इटहरी: इटहरीमा हिजोबाट सुरु भएको मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फुटबलमा धरान उपमहानगरपालिको टिमले दुहबी निलोलाई फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो खेलमा धरानले दुहबी निलोलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । धरानको सानदार जितमा मिलन राई एक्लैले ४ गोल गरेका थिए । यस्तै, वर्तमान राई र बिटु तामाङले एक एक गोल गरेका थिए । यता, दुहवी निलोबाट भने विजय पोखरेल र भरत चौधरीले एक एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनीहरुको गोल सान्त्वनमा सिमित भयो ।

उक्त खेलमा धरानका मिलन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार पनि हात पारे । योसँगै दुहवी प्रतियोगितबाट बाहिरिएको छ । चैत १४ गतेसम्म चल्ने प्रतियोगितामा बिजेता टिमले नगद १ लाख र उपविजेता टिमले नगद ५० हजार हात पार्नेछन् ।

दुहबी रातो पनि सेमिफाइनलमा प्रवेश

football

आजै भएको दोस्रो खेलमा ईनरुवा नगरपालिकालाई झिनो गोल अन्तरले पराजित गर्दै दुहबी रातो सेमिफाइनलमा प्रवेश गरेको छ । दुहबी रातोका मनिष अधिकारीले गरेको एक गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ द म्याच उनै अधिकारी घोषित हुँदै नगद दुई हजार हात पारे । भोली मंगलबार अन्तिम क्वाटरफाइनल खेल वराहक्षेत्र नगरपालिका र इटहरी निलो वीच हुनेछ । सुनसरीका पालिकास्तरीय ८ वटा टिम प्रतियोगितामा सहभागी छन् ।