ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विप्लव समूह पक्राउ गर्न पूर्वमा सर्च अभियान” शीर्षकको समाचार छापिएको छ । पछिल्लो समय हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गर्न प्रहरीले पूर्वमा सर्च अभियान सुरु गरेको छ । पूर्वका उत्तरी र दक्षिण भेगका बस्तीहरुमा बसेर विप्लव समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न सर्च अभियान सुरु गरेको हो । प्रदेश १ का विभिन्न जिल्लाको ग्रामिन बस्ति र पहाडी क्षेत्रमा विशेष प्रहरी परिचालन गरी सर्च अभियान सुरु गरेको हो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “आठ कक्षा पढेका युवाले बनाए ‘अटो सेक्युरिटी सिस्टम’” शीर्षकको अर्को समाचार पनि छापिएको छ । न इन्जिनिनयरिङ पढे, न कुनै प्राविधिक शिक्षा नै लिन पाए । कक्षा ८ सम्मको मात्रै अध्ययन गरेका पूर्ण लङवा लिम्बुले सेन्सरको माध्यमबाट चल्ने अटो सेक्युरिटी सिस्टमको निर्माण गरेर सबैलाई चकित पारेकाछन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ४ लिङतेपका २६ वर्षीय पूर्णले २ वर्षको प्रयासपछि यस्तो प्रविधिको विकास गरेका हुन् । गाउँमै बसेर लङवाले बनाएको यो प्रििवधिले सेन्सरका माध्यमबाट फोटो र भिडीयो एक साथ खिच्नका साथै मोबाईलमा फोन समेत गर्छ ।

उद्घोष : आजको उद्घोष् दैनिकमा “शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा जोड” शीर्षकको समाचार छापिएको छ । सांसदहरुले प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विसंगति सुधारका लागि प्रदेशसभा बैठकमा माग गर्दै आएका छन् । उनीहरुले सामुदायिक शिक्षा र स्वास्थ्यमा राज्यको प्रत्यक्ष लगानी भएपनि सेवाको गुणस्तर कायम नभएको र अनेकौ विकृति देखिन थालेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपाका प्रदेश सांसद कुलप्रसाद साम्बाले विराटनगरस्थित कोशी अञ्चल अस्पताल सुधार गर्न माग गरे । कांग्रेसका सचेतक सुयर्माराज राईले सुन्दरहरैचाँ नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसका प्राध्यापकहरुले दोहोरो सुविधा लिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।