सुनसरी : प्रिमियमको ७५ प्रतिशत सरकारले अनुदान दिने भएपनि पशु विमा अत्यन्तै न्यून हुने गरेको पाइएको छ ।

त्यसैले पशुविमाका लागि उपमहानगरवासीलाई प्रोत्साहित गर्न इटहरी उपमहानगरपालिकाले पाँच ठाँउमा तालिम कार्यक्रम गरेको छ । वीस वटै वडालाई समेटेर पाँच ठाँउमा कृषकहरुलाई भेला पारेर पशुविमाको महत्व, फाइदा र पशु विमा गर्ने बारेमा जानकारी गराइएको इटहरी उपमहानगर पशुपंक्षी विकास शाखाका प्रमुख डा शुलेश्वर मण्डलले जानकारी दिए । तालिममा कृषकहरुले पशुविमाका बारेमा जानकारी नभएर विमा नगर्ने गरेको गुनासो गरेका छन ।

पाँचै ठाँउमा तालिममा कृषकले उठाएका समस्या समाधान गर्न आयोजित अन्तरक्रिया कार्यक्रमहरुमा विमा कम्पनीका प्रतिनिधिहरुले पशुविमाका बारेमा आफूहरुले गर्ने प्रचार प्रसारमा कमि भएको स्वीकारेका छन् । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका सवै वडालाई समेटेर तालिम पछि पशुविमा गरेर कृषक लाभान्वित हुने अपेक्षा ब्यक्त गर्नुभएको छ । कृषिलाई उपमहानगरले प्राथमिकतामा राखेको र आगामी वर्षको बजेटमा कृषकले उठाएका समस्या समाधानका लागि सम्बोधन गरिने बताए । वडाध्यक्ष भगवान लाल शाह कृषकले पशुविमा वापत पाउने क्षतीपूर्ती रकम लिदा झण्झट दिनु नहुनेमा जोड दिए ।