धरान: मोरङको कानेपोखरी ४ बाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्व नेकपाका कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ(पुस्कर) र ब्युरो सदस्य माधव गौतमलाई धरान ल्याइएको छ ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएको समयमा श्रेष्ठ र गौतमलाई आइतबार साँझ कानेपाखरीबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनलाई धरान ल्याएर संगठित अपराधसँगै हातहतियार तथा खरखजनाको मुद्दा चलाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय धरानले सोमबारै जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धानमा राखेको छ । डिएसपी सुमन तिम्सिनाका अनुसार अदालतले दुवैलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

एम १६ र एलएमजी ओसारपसारमा जोडिए

विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयसँगै नेता तथा कार्यकर्ताहरु प्रहरी निगरानीमा छन् । केही दिनयता विप्लवका नेता,कार्यकर्ताहरु पनि धमाधम पक्राउ परिरहेका छन् । उनीहरु सबैलाई संगठित अपराधमा प्रहरीले मुद्दा चलाएको छ । तर, मोरङको कानेपोखरीबाट पक्राउ परेका श्रेष्ठ र गौतमलाई भने प्रहरीले हातहतियार तथा खरखजना मुद्दा पनि चलाएको छ ।

प्रहरीले दुवैलाई संगठित अपराधसँगै हातहतियार तथा खरखजना मुद्दा पनि चलाउनुको कारण गत फागुन १५ गते धरानमा वरामद भएको अत्याधुनिक हतियार पनि हो । फागुन १५ मा धरानको वडा नं ६ पानवारीस्थित चोक्टीबाट कोशी ब्युरो सदस्य देवकुमार लिम्बूलाई प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ गरेको थियो । उनको साथबाट द्धन्दकालमा सेनाबाट लुटेको एम १६ र एलएमजी वरामद भएको थियो । लिम्बू अहिले पनि प्रहरी हिरासतमा नै छन् ।

biplop-mao

लिम्बूको वयानबाट नै वरामद भएका हतियार श्रेष्ठको निर्देशन वमोजिम मोरङ लैजादै गरेको कुरा खुलेपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुँयालले धरानमा वरामद भएको हतियारमा संलग्तना देखिएकोले नै दुवैलाई धरानमा राखेर अनुसन्धान गरिएको पुष्टि गरे । ‘हतियारमा पनि उनीहरु जोडिएका छन्, थप अनुसन्धान भइनै रहेको छ,’डिएसपी फुँयालले भने ।

मुद्दा धरानबाट तर इटहरीमा राखियो

प्रहरी स्रोतका अनुसार ब्युरो इञ्चार्ज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले मुद्दा चलाएको हो । तर, उनलाई इटहरी राखिएको छ । धरानमा राख्ने ठाउँ अभाव भएकोले इटहरीमा राखिएको प्रहरीको भनाई छ । ‘मुद्दा धरानबाट चलाइएको हो, तर इञ्चार्जलाई इटहरीमा राखिएको छ,’प्रहरी स्रोतले भन्यो । यो बिषयमा भने प्रहरी अधिकारीले खुल्न चाहेनन् ।