ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मौलाउँदै बाउन्स चेक ठगी” शीर्षकको समाचार छापिएको छ । बाउन्स चेक दिएर ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिनेको लर्को लागेको छ । खातामा पैसा नभएको अवस्थामा चेक काट्दै सर्वसाधारण ठग्ने गरेका छन् । पछिल्लो समयमा चेक बाउन्सको घटना इटहरी आसपासमा अत्याधिक भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर वुद्धि चौलागाईले बताए । रकम भुक्तानीका लागि आउने तीब्र दबावका कारण जानेर नै बाउन्स चेक दिएर थमथमाउने प्रयास बढ्दो छ । चेक बाउन्समा इटहरी ८ का सरोज बुढाथोकीमाथी ८ लाख २० हजार बैकीङ कसुर ठगीमा इलाका प्रहरी कार्यालय इटहरीले मुद्दा दायर गरेको थियो ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “सुख्खाक्षेत्रमा बसाई–सराई तीव्र” शीर्षकको अर्को समाचार पनि छापिएको छ । पाँचथरको कुम्याक गाउँपालिका ३ का वीर बहादुर खड्काले १५ रोपनी जग्गामा मकै छरे । बारीभरी मकैको बोट लहलह भएर आयो । तर फल लाग्ने बेलामा ४ रोपनी जग्गाको मकै बाँदरले खाइदियो । बाँकी ११ रोपनीको मकै वर्षात कम हुँदा खडेरीले नष्ट भयो । वर्षभरी खाएर पनि बेच्न पुग्ने अन्नले छाक टार्न पनि धौ–धौ हुन थालेपछि उनले सर्ने निधो गरे । पशुचौपायलाई खुवाउने घासपातको अभाव र सुख्खा खडेरीले गर्दा वर्षेनी समस्या भाग्दैँ आएका किसान हरेक वर्ष यसरी नै बसाई सर्न बाध्य बनेका हुन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “वन्यजन्तु पीडितलाई ३ करोड” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा हालसम्म सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रममा १७ र प्रदेश सरकारतर्फका कार्यक्रममा नौ प्रतिशत प्रगति हासिल गरेको छ ।

सङ्घीय र प्रदेश सरकारका गरी रु तीन अर्ब १५ करोड बजेट पाएको र स्वीकृत कार्यक्रम एवं योजनामा खर्च गर्न मन्त्रालयले अख्तियारी दिए पनि कर्मचारीले विभिन्न बहानामा समयमै काम गर्न नसकेकाले प्रगतिमा कमी देखिएको मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले जानकारी दिए ।
विसं २०७४ माघ २९ गते स्थापित मन्त्रालयअन्तर्गत वन निर्देशनालय र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र एक एक, डिभिजन वन कार्यालय १५ र भू तथा जलाधार व्यवस्थापन कार्यालय दुई छन् । त्यस्तै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय एक, घरेलु तथा साना उद्योग कार्यालय तीन (झापा, सुनसरी र मोरङ), ११ वटा घरेलु तथा साना उद्योग विकास समिति ११ छन् । मन्त्रालयले आव २०७४÷७५मा विभिन्न कार्यक्रम सम्पन्न गर्नका लागि करीब रु छ करोड ५३ लाख विनियोजन भई अख्तियारी प्राप्त भएकामा यी काम सम्पन्न गर्दा करीब रु चार करोड १८ लाख खर्च भई भौतिक प्रगति ६१.५४ र वित्तीय प्रगति ६४.११ प्रतिशत रहेको देखिएको छ ।
मन्त्रालयको कार्यक्रमानुसार एक घर पाँच बिरुवा कार्यक्रमअन्तर्गत मोरङ र झापामा ६० हजारका दरले पाँच प्रजाति (इमली, रुख, कटहर, सोहिजन, बेल र अमला)का एक लाख २० हजार बिरुवा उत्पादन भई कृषकलाई वितरण गरिएको, ताप्लेजुङ, भोजपुर, ओखलुढुङ्गा, धनकुटा, तेह्रथुम र पाँचथरमा विशेष क्षेत्र लक्ष्य गरी कृषकलाई रुद्राक्ष, चाँप, लौठसल्ला, लाम्पाते आदि प्रजातिका १२ हजार आयमूलक बिरुवा खरीद गरी वितरण गरिएको, चुरे संरक्षण र चरिचरन नियन्त्रणका लागि सुनसरी, मोरङ, झापा र इलाममा चुरेको महत्व र चरिचरण व्यवस्थापनसम्बन्धी एफएम रेडियोमार्फत जनचेतनामूलक प्रचारप्रसार, सूचनापाटी निर्माण गरी चुरे क्षेत्रमा हटस्पट स्थापना, जनचेतनामूलक ब्रोसर तथा लिफलेट तयारी र प्रकाशन गरी वितरण गरिएको, वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम (एफएम, रेडियोबाट जनचेतनामूलक सन्देश प्रवाह, प्रचारप्रसार र सूचनापाटी निर्माण आदि) सञ्चालन तथा वन डढेलो नियन्त्रण सञ्जाल गठनलगायत काम गरेको प्रगति विवरणमा उल्लेख छ ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “भोजपुरमा विप्लवका कार्यकर्ता पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रहरीले भोजपुरका ििवभिन्न ठाउँबाट विप्लव समूहका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । टेम्के मैयुम गाउँपालिका ४ नागी बस्ने २९ वर्षीय सञ्जय राई, पौवदुम्मा ३ च्याङग्रे बस्ने २४ वर्षीय विकास राई र साल्पासिलिछो गाउँपालिका वडा नं. १ कुलुङ बस्ने ४७ वषीय महेन्द्रकुमार तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरको सुचना अधिकारी पाण्डव राजवंशीले जानकारी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “हिमाल हेर्न एभरेष्ट भ्यु टावर” शीर्षकको समाचार छापिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत ८ वटा हिमालय पर्वतमाला नियाल्न उदयपुरको लिमचुङबुङ गाउँपालिकाले महत्वकांक्षी पर्यटकीय योजना अघि सारेको छ । आन्तरिक र बाह्य पर्यटकलाई सगरमाथा र अन्य हिमशृंखला आखै अगाडी नियाल्न गाँउपालिकाले करौडौ लागतको एभरेष्ट भ्यु टावर निर्माण गर्न लागेको हो ।