ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “एक महिनापछि कोशीमा भेटियो रमिलाको शव” शीर्षकको समाचार छापिएको छ । गत फागुन १७ गते रातिदेखि वेपत्ता मोरङ बेलबारी नगरपालिका ४ की २६ वर्षीय रमिला राईको शव कोशी व्यारेजमा फेला परेको छ । रमिलाको शव बाराभित्र हात खुट्टा बाधेको अवस्थामा फेला परेको थियो । रमिला वेपत्ता भएपछि पक्राउ परेका उनका प्रेमी नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले प्रहरी समक्ष हत्या रुवीकार गरेपछि प्रहरीले गोताखोर लगाएर कोशीमा खोज्दा पनि शव फेला परेको थिएन । बुधबार स्थानीयले कोशी ब्यारेजको करिब ३ सय मिटर दक्षिणमा पानीको बीचमा सेतो बोरा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । बोरा खोलेर हेर्दा शवको हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको कोशी व्यारेज प्रहरी पोष्टका इन्चार्ज इशवरी दाहालले बताए । रमिलाका आफन्तले शव हेरेर पुष्टी गरेपछि प्रहरीले मुचुल्का तयार पारेको छ । फागुन १७ गते शुक्रबार राति गुरुङसंगै विराटचौकको हावना होटल गएकी राई वेपत्ता भएकी थिइन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “इटहरीको कृषि फर्ममा बर्डफ्लु” शीर्षकको अर्को समाचार पनि छापिएको छ । इटहरी १८ लविपुरको विएण्डजी अर्गानिक कृर्षि फर्ममा बर्डफ्लु भेटिएपछि त्यहाँ रहेको सबै कुखुरा र हाँस मारिएको भेट्नरी अस्पताल सुनसरीका डा. मनोजकुमार महतोले बताए । महतोले फर्म आसपासका ३ कलोमिटर क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताए । लविपुर आसपासका सबै क्षेत्रमा जाँच गर्दा अन्य फर्म तथा घरमा भने बर्डफ्लु नभटिएको उनले बताए । लविपुरका २९ वर्षीय राजु बस्नेत करिब १ वर्ष अगाडी फर्म खोलेर हाँस र लोकल कुखुरा पालेका थिए । लाखौँ रुपैयाँ खर्चिएर शुरु गरेको फर्ममा आम्दानी शुरु हुन लागेको बेला २० लाख भन्दाबढीका कुखुरा हास मारिएको उनले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सुकुना क्याम्पसमा झडप” शीर्षकको समाचार छापिएको छ । अनेरास्ववियु र नेविसंघबीच बुधबार मोरङको सुन्दरहरैचाँ नगरपालिका १२ स्थित सुकुना बहुमुखी क्याम्पसमा झडप भएको छ । विहान ८ बजेबाट सुरु भएको झडपका कारण झण्डै २ घण्टा क्याम्पस परिसरमा तनाव भएको थियो । झडपमा परेर नेविसंघका ४ नेता घाइते भएका थिए । नेविसंघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाइ सभापति विजय तालाङगी, सचिव समिर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएको क्याम्पस प्रशासनले जनाएको छ ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “कुम्भ मेलाको तयारी पूरा” शीर्षकको समाचार छापिएको छ । बराहक्षेत्र चतराधाममा अर्धकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार काठमाण्डौँमा पत्रकार सम्मेलन गरी मूल आयोजना समितिका अध्यक्ष जगद्गुरु बालसन्तले उक्त जानकारी दिएका हुन् । अर्धकुम्भ मेला २०७५ चैत २३ गतेदखि वैशाख २४ गतेसम्म १ महिना लाग्नेछ । कुम्भ मेलाको लागि सरकारले अहिले कुनै चासो नदेखाएको र सहयोग नगरेको बालसन्त मोहनसरणले गुनासो गरेका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “तेह्रथुममा हाते ट्याक्टर वितरण” शीर्षकको समाचार छापिएको छ । म्याङलुङ नगरपालिकाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकलाई कृषि औजार वितरण कार्यक्रम अन्तर्गत हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १० वटा वडाका २५ जना कृषकलाई नगरपालिकामै बोलाएर हाते ट्याक्टर वितरण गरेको हो । चालु आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्तर्गत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले जानकारी दिए ।