इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका वडा नं ४ हरिनगरा बजारमा बुधबार राती आगलागी हुदा डेढ करोड बढीको क्षति भएको छ ।

स्थानीय विजय जैनको घरबाट बिजुली तार सट भई आगलागि हुँदा १ करोड ६० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हरिनगराले जानकारी दिएको छ । आगलागीबाट विजय जैनको भाइ अजय जैनको घर, अजय जैनको घरमा रहेको हरिशकर मलाकारको फोटो स्टुडियो समेत जलेर क्षति पुगेको छ । वुधबार राति करिब सवा १० बजे आगलागी भएको थियो । आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

विजय जैनको घरबाट अचानक बिजुली तार सट भई आगलागी भएको थियो । आगलागीबाट उनको मुख्य घरसहित भएको पसल जलेर नष्ट हुँदा अन्दाजी १ करोड रुपँया बराबरको क्षति भएको छ । उनको घरमा रहेको कपडा पसल, किराना पसल र हार्डवेयर समेत घर र पसल भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात, नगद १२ लाख जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, भाई अजयको घर पसलसहित जलेर नष्ट हुँदा अन्दाजी ५८ लाख रुपँया बराबरको क्षति भएको हो । त्यसैगरी अजयको घरमा भाडामा रहेको हरिशकर मलाकारको फोटो स्टुडियो जलेर नष्ट हुँदा २ लाख बराबर क्षति भएको छ। सो आगलागी इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा इटहरी उपमाहानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको छ भने कुनै पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ ।