धरान: इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिताको ५ औं संस्करण यही चैत्र १६ गते शनिबार हुने भएको छ ।

धरान गल्फ क्लवको आयोजना तथा बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिको प्रायोजनमा धरानको निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा प्रतियोगिता हुने भएको हो । आयोजक तथा प्रायोजक दुवैले बिहिबार बराह कम्प्लेक्सस्थित बराह फेमिलि किचनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा यसपाली कुल ५६ जना गल्फरहरुले सहभागिता जनाउने क्लवका सचिब जितेन्द्र राईले बताए । उनका अनुसार ती मध्ये ४७ जना धरान गल्फ क्लवका सदस्यहरु हुन् भने ६ जना पुर्व गोर्खा लाहुरेहरु हुनेछन् ।

बराहका संस्थापक एवं परिकल्पनाकार इन्द्र बहादुर लामिछानेको स्मृतिमा विगत ४ बर्षदेखि प्रतियोगिता आयोजना भइरहेको छ । प्रतियोगिताको लाग बराह र धरान गल्फ क्लवबीच २०७१ सालमा १५ वर्षको लागि सम्झौता भएको थियो । सम्झौता वमोजिम प्रत्येक वर्ष १ लाख रुपैयाँ बराहले उपलब्ध गराउनेछ । तर, यस वर्षदेखि २० हजार रुपैयाँ थप गरिएको बराहका धरान शाखा प्रमुख मान बहादुर दियालीले बताए । ‘प्रत्येक वर्ष १ लाख रुपैया दिने सम्झौता भएको थियो, तर यसवर्षदेखि २० हजार रुपैयाँ थप गरेर १ लाख २० हजार रुपैयाँ पु¥याएका छौं,’उनले भने,‘गल्फ खेलको विकाससंगै खेलाडी उत्पादनको लागि सहयोग गरेका हौ ।’ स्वर्गीय लामिछाने गल्फ क्लवका संस्थापक कोषाध्यक्ष थिए । खेलप्रतिको उनको लगाव तथा योगदान भएको कारण प्रतियोगिताको लागि प्रायोजन गरिएको बराहले जनाएको छ ।

प्रतिगोगिताको विजेताले उपाधि ट्रफीसहित १२ हजार रुपैयाँको भौचर प्राप्त गर्ने छ भने दोस्रो, तेस्रो हुने खेलाडीले क्रमशः ७ हजार र ५ हजार रुपैयाँको भौचर प्राप्त गर्ने क्लबका अध्यक्ष टिका लिम्बूले बताए । त्यसैगरी, प्रतियोगिताको ग्रस तर्फको विजेताले १० हजार रुपैयाँको भौचरसहित ट्रफी र उपविजेताले ६ हजार रुपैयाँसहित ट्रफी पाउने छन् । मष्ट बर्डी, लङगेस्ट ड्राइभ र नियरेष्ट टु दि पिनले ३–३ हजारको भौचरसहित ट्रफी पाउने छन् । यसैगरी, महिला विजेताले ५ हजार रुपैयाँको भौचरसहित ट्रफी पाउदा महिला उपविजेता ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । महिला विजेता तथा उपविजेता पुरस्कार यस पटकदेखि थप गरिएको क्लवका अध्यक्ष लिम्बूले बताए । ‘हामीले यस वर्षदेखि महिला विजेता र उपविजेता टाइटल थपेका छौ,ं’ उनले भने ।

एमेच्योर प्रतियोगिताका खेलाडीहरुलाई नगद पुरस्कार दिने व्यवस्था नभएकोले प्रोत्साहनस्वरुप भौचर उपलब्ध गराउने सचिव राईको भनाई थियो । ‘एमेच्योर खेलाडीले नगद रकम हुदैन, यो गल्फको विश्वव्यापी नियम हो,’ उनले भने ‘हामी विजेताहरुलाई भौचर ट्रफी र भौचर उपलब्ध गराउछौ, त्यो भौचरले बराहमा सपिङ गर्न पाउछन् ।’ गल्फ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष लिम्बूले बताए ।