धरान:इटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिताअन्र्तगत फुटबलमा धरान उपमहानगरपालिकाको टिम फाइनल पुगेको छ ।

आज सम्पन्न भएको सेमीफाइनल खेलमा बराहक्षेत्र नगरपालिकालाई १-० गोलअन्तरले हराउदै धरान उपाधि नजिक पुगेको हो । धरानको जितमा मिलन राईले निर्णायक गोल गरे । पहिलो हाफको २६ औं मिनेटमा बराहका खेलाडीले डिबक्सभित्र फल गरेपछि धरानले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टीमा मिलन राईले गोल गरेका थिए ।

सो खेलको म्यान अफ दि म्याच बराहका अनिल धामी घोषित भए । धरानले भोली शुक्रबार फाइनलमा रामधुनी नगरपालिकासँग उपाधि भिडन्त गर्नेछ । विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार पाउनेछ । यसअघि, रामधुनीले दुहबीलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । आजका निर्णायक गोलकर्ता मिलनले यसअघिको पहिलो खेलमा दुहबी निलोविरुद्ध एक्लैले ४ गोल गरेका थिए ।