धरान: करिब ६ वर्ष अघि जनकपुरमा पाँच जनाको ज्यान जाने गरि भएको बमकाण्डका आरोपी पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैद फैसला भएको छ ।

धनुषा जिल्ला अदालतले उनीहरुलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । यो मुद्दामा आइतबारदेखि न्यायाधीश राजेश कुमार कटुवालको इजलासमा अन्तिम सुनुवाई भएको थियो । अदालतले पूर्व मन्त्री साहसँगै अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द झालाई जन्मकैद फैसला सुनाएको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

साह पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा जनकपुरबाट जितेका निवार्चित भएका थिए । उनी पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट विजयी भएका थिए । त्यसबेला उनी राज्यमन्त्री पनि भए । दोश्रो संविधानसभा चुनावमा भने तत्कालिन राजेन्द्र महतोको सद्भावना पार्टीबाट जितेका थिए । २०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्य संघर्ष समितिको धर्ना कार्यक्रममा बम बिष्फोट भएको थियो । संघर्ष समितिले मिथिला राज्यको माग गर्दै धर्ना दिइरहेको थियो । उक्त बिष्फोटमा परी पाँच जनाको ज्यान गएको थियो ।

विस्फोटमा परेर रंगकर्मीहरु रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो । यस्तै, दुई दर्जन बढी घाइते भएका थिए । उक्त बमकाण्डमा साह मुख्य योजनाकारको आरोपमा पक्राउ परे । त्यसपछि, पूर्वपक्षका लागि थुनामा गएका थिए । उनीमाथि सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याको अभियोग पनि छ । यो हत्याकाण्डलगायत अन्य मुद्दा पनि अदालतमा विचाराधिन छ ।