झापा: दमकमा प्रदेश नम्बर १ स्तरीय तीन दिवसीय बृहत बाङ्मय सङ्गोष्ठीको तयारी तीव्र रुपमा भइरहेको छ ।

नेपाल प्राज्ञ प्रतिष्ठान र दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सङ्गोष्ठीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित भएको दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले जानकारी दिए । कार्यक्रम चैत १७ गतेदेखि शुरु हुदैछ । प्रतिष्ठानले ७ वटै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम १ नम्बर प्रदेशबाट शुरु हुन लागेकोले सफल बनाउनका विभिन्न उपसमितिहरु बनाएर काम शुरु गरिएको अधिकारीले बताए । प्रदेशको साँस्कृतिक, भाषिक तथा यहाँ रहेका पुराना आदिबासी जनजातिहरुको विभिन्न पक्षहरुको बिषयमा बिज्ञहरुद्धारा खोजमूलक कार्यपत्रहरु प्रस्तुत हुने बताइएको छ ।

किरात मन्धुमको बिषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिश्चन्द्र लावतीले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्र प्रस्तुत हुनुअघि यस जातिका दुई जना सबैभन्दा जेष्ठ नागरिकलाइ सम्मान समेत गरिने भएको छ । यसैगरी कोसी प्रस्रवणक्षेत्रको धार्मिक एवं पर्यटकीय स्थलहरुको खोज गरेर यस बिषयमा समेत कार्यपत्र प्रस्तुत हुने बताईएको छ । यो १ नम्बर प्रदेशका लागि पर्यटकीय गुरुयोजनाको रुपमा दस्तावजीकरण हुनसक्ने बताइएको छ । कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई समेत कार्यक्रममा सहभागी हुनेछन् । स्नात्तकोत्तर क्याम्पस बिराटनगरका प्रा.डा. सोमप्रसाद खतिवडाले यस बिषयको कार्यपत्र प्रस्तुत गर्नेछन् ।

तीनदिने कार्यक्रममा नेपाल उपत्यका र राजवंशी समुदायको साँस्कृतिक अन्तरसम्बन्धको बिषयमा प्राध्यपक डा. डिल्ली प्रसाइले, कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवनको बिषयमा राजेश्वर थापाले कार्यपत्र प्रस्तुत गर्नेछन् भने सन्थाल लोक साहित्यको वर्तमान अवस्थाबारे दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उत्तम भट्टराइले कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै, धिमाल लोक साहित्यका विशेषताहरुको बिषयमा डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गर्ने निश्चित बनेको पनि बताइएको छ ।

प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम र प्रदेशकै बिशिष्ठ प्रकारको कार्यक्रम हुने भएकाले नगरपालिकाले आफ्नै कार्यक्रमको रुपमा लिएर यसलाइ सफल बनाउन तयारी शुरु गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए । उनका अनुसार यसको निष्कर्षको रुपमा दमक घोषणापत्र समेत जारी हुने भएकाले यसलाइ धेरै नै महत्वपुर्ण कार्यक्रमको रुपमा लिइने उनको भनाइ छ ।