ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “रेष्टुरेन्ट सञ्चालिकासहित दुईलाई थुनामा राख्न आदेश” शीर्षकको समाचार छापिएको छ । रेष्टुरेन्टको आवरणमा डर, त्रास देखाएर बालिका र किशोरीलाई जबरजस्ती यौनधन्दामा लगाउने रेष्टुरेन्ट सञ्चालिकासहित दुई जनालाई पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । विराटनगर ९मा टिफिन रेष्टुरेण्ट सञ्चालन गर्ने ३२ वर्षीय प्रिया भनिने पुर्णिमा श्रेष्ठ र सोही रेष्टुरेन्टमा काम गर्ने २६ वर्षीय कल्पना भनिने टिका चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको हो । जिल्ला अदालत विराटनगरका न्यायधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले उनीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न विहीबार आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

नागरिक पूर्वेली: आजको नागरिक पूर्वेली दैनिकमा “संसद्मा रेडलाइट एरियाको चर्चा” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को संसद्मा पर्यटन विधेयकमाथि सैद्धान्तिक छलफल जारी रहँदा रेडलाइट एरीया को विषय पनि बहसमा आएको छ । पर्यटन प्रवद्र्धनका लागि रेडलाइट एरिया को कल्पना गर्न सकिने बताउँदै सांसद रामबहादुर मगरले धारणा राखेको भोली पल्ट विहीबार सांसद इन्दिरा राईले त्यसमा आपत्ती प्रकट गरिन् । यसअघि बुधबारको संसद बैठकमा विधेयकमाथि भएको छलफलमा भाग लिने क्रममा सांसद मगरले थाइल्याण्डको उदाहरण दिदैँ यौन पर्यटनको सम्भावनाबारे बोलेका थिए । बिहीबारको बैठकको शून्य समयमा राईले उनको अभिव्यक्ति आपत्तिजनक भएको बताएकी हुन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “मोरङ र सुनसरीमा बर्ड फ्लु” शीर्षकको समाचार छापिएको छ । मोरङ र सुनसरीमा बर्ड फ्लू फेला परेको छ । शनिबार यता मोरङमा एक र सुनसरीको एक कुखुरा फर्ममा बर्ड फ्लू भेटिएको हो । प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका १८ मा रहेको विएण्डजी अर्गानिक कृषि फर्म र मोरङको सुन्दरहरैचा नगरपालिका ११ मा सीता अर्जुन बहुउद्देशीय सहकारीले सञ्चालक गरेको कुखुरा फर्ममा बर्ड फ्लू भेटिएको हो । बर्ड फ्लू भेटिएपछि दुई र्फामका सबै कुखुरा नष्ट गरी उच्च सतर्कता अपनाइएको प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए ।