धरान(डेस्क): एसईई परीक्षा सुरु हुनु अगावै दिनहुँ प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं २ मा आज हुने भनिएको सामाजिक बिषयमा परीक्षा रद्द भएको छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुबाट प्रश्न पत्र बाहिरिए पनि आजको परीक्षा रद्द गरिएको हो । प्रदेश २ का ८ वटा जिल्लामा आजको सामाजिक बिषयको परीक्षा रद्द भएको छ । सार्वजनिक भएको प्रश्नपत्र सक्कली नै भएको पुष्टि भएपछि राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षा रद्द गर्ने निर्णय गरेको उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । प्रदेश २ मा बिहिबार पनि प्रश्नपत्र आउट भएको थियो । परीक्षा अगावै विज्ञान बिषयको प्रश्न पत्र बाहिरिए पछि बिहीबार पनि परीक्षा रद्द भएको थियो ।

प्रदेश २ मा परीक्षा रद्द भएपनि अन्य ६ प्रदेशमा भने निर्वाध चलिरहेको छ । प्रदेशमा प्रश्नपत्र अलग अलग बनाइएको थियो । यो बर्षदेखि परीक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ । विज्ञान बिषयको परीक्षा चैत २२ गतेलाई तोकिएको छ । प्रश्नपत्र बाहिरिएको बिषयमा समितिको बैठकले पुनः परीक्षाको मिति तोक्ने र थप योजना बनाउने भएको छ । प्रदेश २ मा दुई सय ६२ परीक्षा केन्द्र छन् । जसमा ७० हजार ५ सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

ठुलो सुरक्षा व्यवस्था गरिए पनि दिनहुँ प्रश्नपत्र बाहिरिएको बिषयमा ठुलो गिरोहबीचमा मिलेमतो र आर्थिक चलखेल भएको अनुमान गरिएको छ । परीक्षा शुरु हुनुभन्दा घण्टौ अघि नै प्रश्नपत्रहरु समाजिक सञ्जालमा बाहिरिएको थियो । परीक्षा केन्द्रमा प्रश्न पत्र नपुग्दै ती पत्रहरु सार्वजनिक भएको हो । ती प्रश्नपत्रहरु काठमाडौंको सेक्युरिटी प्रेसमा छापिएको थियो । ती प्रश्नपत्रलाई सिलबन्दी गरेर सुरक्षा सहित जिल्लाका परीक्षा केन्द्रहरुमा लगिएको हुन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यो घटनालाई गम्भीररुपमा लिएको जनाएको छ । घटनाबारे बोर्ड र प्रदेश सरकारले छानविनको लागि आ आफ्नै छानबिन समिति गठन गरेको छ ।