काठमाडौं: प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ राजधानीमा तेस्रो लगानी सम्मेलन शुरु भएको छ ।

नेपाल सरकारले आयोजना गरेको सम्मेलन दुई दिनसम्म चल्नेछ । होटल सोल्टीमा आयोजित सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी लगानीमैत्री कानुन बनाएको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह पनि गरे । लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकार बनेकोले लगानीमैत्री कानुन बनाउन सरकार प्रतिवद्ध भएको पति बताए । ुअहिले नेपालमा स्थिर सरकार बनेको छ । हामीले धेरै नीतिगत र कानुन सुधार गरेका छौ, र नेपालमा लगानीको वातावरण तयार गरेका छौ, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालले सन् २०२३ सम्ममा मध्य आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको पनि बताएका थिए । साथै, दुई अंकको आर्थिक बृद्धि गर्न सरकारलाई ५ वर्षभित्र ९८ खर्ब रुपैयाँ आवश्यक भएको पनि उनले खुलाउ । यसको लागि वैदेशिक लगानी आवश्यक भएको प्रधानमन्त्री ओलीले प्रष्ट पारे । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागित रहेको छ । सम्मेलनमा लगानीका लागि निजी क्षेत्रकोतर्फबाट २७ वटासमेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरेको छ ।

Nepal-Investment-Summit

आज सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण हुनेछ । यस्तै, लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानीसम्बन्धी अनुभवसहित ७ वटा विषयगत सत्र सञ्चालन हुने बताइएको छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र सञ्चालन हुनेछ ।

तेस्रो लगानी सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सय बढी विदेशी लगानीकर्ता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहेको छ । लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी प्रस्ताव तयार गरेको छ । सम्मेलनमा १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी पनि छ ।

लगानी सम्मेलनमा सहभागी विदेशीहरु

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केइको होन्डा, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष डोङ ली सहभागी छन् । त्यसैगरी, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर, युनिलिभर लगायत विश्व प्रसिद्ध कम्पनीहरुका उच्चपदस्थ प्रनिनिधिसमेत सम्मेलनमा सहभागिता रहनेछ।