सुनसरी: काठमाण्डौबाट पक्राउ परेका देव गुरुङ र सुनिता राईलाई प्रहरीले वेपत्ता बनाएको परिवारजनले गुनासो गरेका छन् ।

उनीहरुलाई चैत १३ गते मंगलबारका राजधानीबाट पक्राउ गरेको भएपनि २ दिन बितिसक्दा पनि सार्वजनिक नगरिएको र परिवारलाई पनि जानकारी नदिएको परिवारजनले बताएका छन् । काठमाडौंको कोटेश्वर र गौशलाबीचबाट दुवै जनालाई पक्राउ गरेको पीडित परिवारले बताएका छन् । देव नेत्रबिक्रम चन्द विप्लवका संखुवासभा इञ्चार्ज हुन् भने सुनिता जिल्ला समिति सदस्य भएको प्रहरीको दाबी छ । प्रहरीले उनीहरुमाथि अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोप लगाएको छ ।

परिवारजनले उनीहरुलाई सार्वजनिक गर्न माग गरिए पनि हालसम्म कुनै जानकारी नदिएको पीडित देवकी श्रीमति मीना दनुवारले बताइन् । उनका अनुसार पक्राउ परेका दुवैलाई संखुवासभा खादबारी ल्याइएको छ । तर, जिल्ला प्रहरी कार्यालय खाँदबारीले थाह नभएको भन्दै आपूmहरुलाई फर्काएको मीनाले बताइन् । उनले भनिन्,‘मेरो परिवारको बारेमा सत्यतथ्य जानकारी सार्वजनिक होस् भनेर अपिल गर्छु ।’

पक्राउ परेका सुनिताकी आमा सोमालक्ष्मी राईकाअनुसार प्रहरीले छोरीलाई जिल्ला प्रहरी कार्यालय खाँदबारी ल्याएको छ । उनको ज्यानको सुरक्षा गर्न आमा सोमालक्ष्मीले माग गरिन् । ‘मेरो छोरी हिरासतमा छ, तर प्रहरीले यहाँ छैन भन्छ,’उनले भनिन् । उनीहरुलाई पक्राउ गर्ना साथ खाँदबारी ल्याएको थियो । प्रहरीका अनुसार देव जिल्ला ईञ्चार्ज हुन् भने सुनिता जिल्ला समिति सदस्य हुन् ।