धरान: धरान उपमहानगरपालिकाअन्तर्गतको विकास निर्माण समितिले वडा नं २० को सडक तथा पूर्वाधार विकासको शुक्रबार अनुगमन गरेको छ ।

समितिका संयोजक एवं वडा नं १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेको नेतृत्वमा प्राविधिकसहितको टोलीले अनुगमन गरेको हो । टोलीले मंगलबारे–भन्ज्याङ–चाँदीभन्ज्याङ सडकसहित भित्री सडक तथा अन्य भौतिक पूर्वाधारहरुको अनुगमन गरेको थियो । नगरस्तरीय र वडास्तरीय गरी ११ वटा निर्माणधिन योजनाहरुको अनुगमन गरिएको संयोजक काफ्लले बताए । अनुगमनका क्रममा वडामा निर्माणाधिन सडक तथा भौतिकपूर्वाधारहरु सन्तोषजनक रुपमा भइरहेको उनले बताए । ‘जुन शिर्षकमा बजेक विनियोजन भएको हो सोही अनुसार काम भएको पाइयो’ समितिका संयोजक काफ्लेले भने ‘काम सन्तोषजनक रुपमा भइरहेको पाइयो,’उनले भने ।

हालसम्म ५ पटक अनुगमन गरिएको पनि संयोजक काफ्लेले बताए । बजेट थोरै भएपनि काम राम्रो भएको उनको भनाई थियो । वडामा दुई नगरस्तरीयसहित २५ वटा वडास्तरीय कार्यक्रमहरु सञ्चालन भइरहेको योजना प्रमुख बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए । सडकको ट्रयाक खोल्ने कामदेखि सडकको स्तरोन्नती गर्ने काम केही सम्पन्न भइसकेके र केहीको काम भइरहेको उनले बताए । ‘वडामा अहिले नगरस्तरीय योजना २ वटासहित २५ वटा वडास्तरीय कार्यक्रम छन्,’योजना प्रमुख श्रेष्ठले भने,‘जसमा ७५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्था छ, बाँकी काम भइरहेका छ ।’

के के योजना छन्, वडा २० मा ?

S7880001

मंगलबारे–भन्ज्याङसम्मको सडक ३६ लाखको लागतमा ग्राभेल (मिस गिटी राखेर पेल्ने) काम हालै सम्पन्न भएको उनले बताए । सडक बोर्ड नेपालको १८ लाखसहित उपमहानगरबाट ९ र जनसहभागीताबाट ९ लाखको लागतमा सडकको ग्राभेल गर्ने काम सकिएको छ । त्यसैगरी, मंगलबारे–विष्णुपादुका भन्ज्याङ–चाँदीभन्ज्याङसम्मको २३ किलोमिटर सडकको स्तोरोन्नती गर्ने काम भइरहेको उनले जानकारी दिए । ‘खोलिएको सडक ट्रयाकको लागि उपमहानगरले १० लाख रुपैयाँ बजेट छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ,’उनले भने,‘ग्याविङ हाल्नेदेखि बाटोमा भएको अवरोध हटाउने काम भइरहेको छ ।’ यसले सवारी साधनलाई आवतजावतमा सहज भएको बताउदै प्रदेश सरकारको बजेटबाट पिचको लागि पहल भइरहेको समेत बताए ।

त्यस्तै, अनुगमनको क्रममा विष्णुपादुकाको भन्ज्याङमा गत वर्षदेखि निर्माणधिन रहेको अस्थायी प्रहरी पोष्टको पनि अनुगमन गरिएको थियो । करिब ३० लाखको लागतमा निर्माणाधिन अवस्थामा रहेको प्रहरी पोष्टको पनि ७५ प्रतिशत काम सम्पन्न भएको निर्माण समितिले जनाएको छ । त्यसैगरी, देबी गाउँस्थित जनकल्याण वालविकास केन्द्रको भवनको पनि अनुगमन गरिएको थियो । यो भवन ४ लाख ७२ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको योजना शाखाले जनाएको छ । यसैगरि, सानो खैरेस्थित मकरा–साधुबारी जोड्ने १ किलोमिटर बढी सडक र अन्य भित्री सडकको ट्याक खोल्ने काम सम्पन्न भइसकेको छ ।

संघीय सांसद जयकुमार राईको सांसद कोषबाट १० लाख र १ लाख २८ हजार ९ सय ३५ रुपैयाँको जनसहभागिताबाट सो सडकको ट्रयाक खोलिएको योजना अधिकृत किरण भुजेलले बताए । त्यसैगरी, गैरीगाउँ सडक, सरस्वती डाडा, जनज्वती प्रावि, सुलिकोट मार्ग, चण्डीका प्रावि, डुम्रे कुमाला खानेपानी योजनाहरुको समेत अनुगमन गरिएको थियो । अनुगमनमा योजना अधिकृत किरण भुजेल, सव–इन्जिनियर कमल राई र वडासदस्य कल्पना मगरको सहभागीता रहेको थियो ।