विराटनगर: लामो समयदेखि अड्किएको प्रदेश १ को प्रदेश सभाको बिषयगत समितिको सभापति पदको चयन गर्ने गाँठो फुकिएको छ ।

सत्ता र प्रतिपक्षबीच बिषयगत समितिको नेतृत्व चयनमा भागवण्डा मिलेपछि बिषयगत समितिले औपचारिकरुपमा सभापति पाउने भएको हो । दलहरुबीच सहमति भएपछि सभापति चयनको लागि यही चैत २२ गते निर्वाचन मिति तोकिएको छ । मिनि संसदकोरुपमा रहेको बिषयगत समितिमा दलहरुबीच सहमति नजुट्दा सभापति चयन हुन सकेको थिए । समितिमा रहेका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै आएका थिए । कानुन निर्माणमा बिषयगत समितिको भुमिका महत्वपुर्ण हुन्छ । कानुन निर्माणको क्रममा विधेयकमाथिको दाफावार छलफल गर्न समितिमा पठाइन्छ ।

दलहरुबीच ६ वटा बिषयगत समितिको नेतृत्व नेकपाले पाउनेछ भने एउटा कांग्रेसले लिने सहमति भएको हो । नेकपाभित्रै पनि ४ वटा पूर्वएमाले र २ वटा पूर्व माओवादीले समितिको नेतृत्व पाउनेछ । काँग्रेसलाई सार्वजनिक लेखा समितिको नेतृत्व दिने सहमति भएको छ । बाँकी समितिमा पूर्व एमाले र पुर्वमाओवादीबीच भाग लाग्नेछ । प्रदेशसभामा विभिन्न ७ वटा समिति छ । सभापतिको टुंगो लाग्न नसक्दा प्रदेशसभा गठन भएको एक वर्ष बितिसक्दा पनि मिनि संसद सक्रिय हुनसकेको थिएन ।

शुक्रबार प्रदेशसभाको बैठकमा दलहरुबीच सहमति जुटेपछि सभामुख प्रदिपकुमार भण्डारीले संसद सचिवालयका सचिव अम्बिका प्रसाद चौलागाईंलाई मुख्य निर्वाचन अधिकृत तोकेर निर्वाचनको प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । त्यसपछि, संसद सचिवालयले शुक्रबार नै निर्वाचन सम्बन्धी सुचना प्रकाशन गरिसकेको छ ।

समितिका सदस्यहरुमा हेरफेर

pradesh-savaa

राजनीतिक दलहरुबीच बिषयगत समितिमा रहेका सदस्यहरुमा हेरफेर गर्ने सहमति भएको थियो । सो सहमति अनुसार न्याय प्रशासन समितिमा रहेका काँग्रेसका चुमनारायण तवदारलाई अर्थसमितिमा पठाइएको छ भने सुशासन समितमा पूर्णप्रसाद राईको ठाउँमा नेकपाका मोहन खड्का गएका छन् । यस्तै, काँग्रेसका ओमप्रसाद सरागवी र लोकप्रसाद संग्रौला सार्वजनिक लेखा समितिमा पुगेका छन् । नेकपाकी सरिता थापाको स्थानमा अम्बिका थापा थपिएकी छिन् ।

सामाजिक विकास समितिमा नेकपाकी अम्बिका थापाको ठाउँमा सरिता थापा पुगेकी छिन् भने सरिता थेवेको ठाउँमा कला घले पुगेकी छिन् । यस्तै, उद्योग पर्यटन र वातावरण समितिमा नेकपाकी कला घले र सीता थेवे आएकी छिन् । काँग्रेसका मोहम्मद ताहिर मियाँको स्थानमा नवोदिता चौधरीले ठाउँ पाइन् । प्राकृतिक स्रोत तथा पूर्वाधार समिति भएकी कांग्रेसकी नवोदिता चौधरीको स्थानमा मोहम्मद ताहिर मियाँ पुगेका छन् । नेकपाका मोहनकुमार खड्काको ठाउँमा पूर्णप्रसाद राई गएका छन् ।