धरान: धरान उपमहानगरपालिका नेपालकै सुगम, विकसित तथा आधुनिक सहरमा गनिन्छ । तर, यो उपमहागरकै वडा नै २० भने भौगोलिकरुपमा विकट छ ।

यो वडा भुगोलमा निक्कै ठुलो क्षेत्रफल छ । ठुलो क्षेत्रफलको सुरक्षाका लागि खटिने प्रहरीलाई कार्यालय सञ्चालन र आवासको पनि असुविधा छ । हाल प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा ५ जना प्रहरी वडा कार्यालयको भवनमा बस्दै आएका छन् । विष्णुपादुका धनकुटाको साँगुरीगढी गाउँपालिकासँग सिमाना जोडिएको छ । यो रुट भएर यहाँ धनकुटाको दक्षिणी भेगबाट लागुऔषध गाँजा असोरपसार हुने गर्छ । प्रहरीले पनि पटक–पटक यो रुटबाट लैजादै गरेको गाँजा पक्राउ गरेको छ । यस्तो संवेदनशिल क्षेत्रमा प्रहरीलाई भने व्यवस्थित पुर्वाधार नहुदा समस्या भएको स्थानीयबासी नै बताउँछन् ।

प्रहरीलाई व्यावस्थित गर्नको लागि गत वर्षको पुषदेखि विष्णुपादुका भन्ज्याङमा अस्थायी प्रहरी चौकी भवन निर्माणाधिन अवस्थामा छ । करिब ३० लाखको लागतमा ३ कोठे एक तल्लाको भवन बनाउन थालिएको थियो । हालसम्म ७० प्रतिशत निर्माण सम्पन्न भएको प्रहरी चौकी निर्माण समितिका अध्यक्ष राजेन्द्र प्रसाद तामाङले बताए । भवन निर्माणको लागि बजेट अभाव भएको पनि उनले खुलाए । अहिले भवनको निर्माण कार्य बजेट अभावले रोकिएको छ ।

निर्माण समितिका अनुसार भवनको लागि धरान उपमहानगरपालिकाले गत बर्ष ८ लाख र यो बर्ष पनि ८ लाख रुपैयाँ बजेट दिएको थियो । 'नगरपालिकाबाट शुरुमा ८ लाख आएपछि निर्माण थालेका थियौं, क्रमागत योजना अनुरुप फेरी ८ लाख आएपछि ७० प्रतिशत काम सकियो,’ उनले भने,‘अब भने बजेट छैन ।’ सुनसरी क्षेत्र नं १ ख बाट प्रदेश सभाका निर्वाचित भीम आचार्यले संसद कोषबाट १५ लाख दिने आश्वासन दिएका छन् । यो बजेट पाए प्रहरीको भवन चाडै सम्पन्न हुने अध्यक्ष तामाङले बताए । 'उहाँले दिने भन्नुभएको बजेट पायौ भने भवन तयार हुन्छ,'उनले भने ।