धरान: दोस्रो मेयर ओपन एमटिबि क्रसकन्ट्री च्याम्पियनसिप २०१९ आज धरानमा सम्पन्न भएको छ । धरान १४ विजयपुरस्थित पाँचकन्या जंगल क्षेत्रको रेस ट्रयाकमा प्रतियोगिता आयोजना भएको थियो ।

धरान उपमहानगरपालिकाअन्र्तगतको खेलकुद विकास समितिको सहयोगमा सुनसरी साइक्लिङ एशोसिएशनले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न ४ विधामा स्पर्धा गराइएको थियो । कुल ३० भन्दा बढी खेलाडीहरु सहभागी थिए । प्रतियोगितामा मेन इलिट(खुला पुरुष), वुमन इलिट(खुला महिला), जुनियर र भेट्रान गरी ४ विधामा अलग अलग स्पर्धा भएको थियो । पुरुष खुलाका खेलाडीहरुले ७ ल्याप स्पर्धा गर्नुपथ्र्यो भने खुला महिला, जुनियर र भेट्रानको लागि मात्र ४ ल्याप स्पर्धा गराइएको थियो । एक ल्याप बराबर ३ किलोमिटर दुरी थियो । प्रतियोगिताको मुख्य प्रायोजक आइएमइ पे रहेको थियो ।

cyclist

विजेता खेलाडीहरुलाई आयोजक संस्थाका अध्यक्ष राजेन लिम्बू, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, बिशिष्ट अतिथि एवं इटहरीस्थित नेपाली सेनाका पृतनापति समिर शाही, पुर्वमेयर मनोजकुमार मेन्याङबो, वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटराई, युनिक ट्राभल्स एण्ड टुर्सका प्रोपाइटर कुन्दन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । खुला पुरुष र खुला महिलाका प्रथम, दोस्रो र तेस्रो स्थानका विजेताहरुले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार, मेडल र प्रमाणपत्र हात हात पारे । जुनियर र मेन भेट्रानका प्रथम, दोस्रो र तेस्रो स्थानका विजेता खेलाडीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार जिते ।

पुरुष खुलातर्फ तीनै जना आर्मीका खेलाडी

_DSC0656

पुरुष खुलातर्फ प्रथम, दोस्रो र तेस्रो स्थानमा नेपाली सेनाका खेलाडी विजयी भए । पुरुष खुलातर्फ त्रिभुवन आर्मी क्लबका ओकेशराज बज्रचार्य प्रथम हुदा क्लबकै खेलाडी प्रताप मल्ल दोस्रो र हिमाल टमाटा तेस्रो भए । स्पर्धामा बज्रचार्यले १ घण्टा ३२ मिनेट १ सेकेण्डमा दुरी पार गरेका थिए भने मल्लले १ घण्टा ३३ मिनेट ४७ सेकेण्ड र टमटाले १ घण्टा ३८ मिनेट ४० सेकेण्डमा दुरी पार गरेका थिए ।

महिलातर्फ लक्ष्मी नुवाकोटकी प्रथम

_DSC0611

महिलातर्फ भने नुवाकोटकी लक्ष्मी मगर प्रथम भइन् । दोस्रो प्युठानकी भुमी बुढा मगर हुदा धरानकी आशा लिम्बू तेस्रो भइन् । लक्ष्मीले निर्धारित दुरी १ घण्टा ६ मिनेट २५ सेकेण्डमा पार गरेकी थिइन् भने भुमीले १ घण्टा २० मिनेट ५५ सेकेण्ड र आशाले १ घण्टा २६ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी थिइन् ।

जुनियरतर्फ धरानका सुशान्त प्रथम

_DSC0633

प्रतियोगितामा जुनियरतर्फ धरानका सुशान्त मेन्याङबो प्रथम भए । धरानकै अनिष तामाङ दोस्रो हुदा उदयपुरका अर्जुन रिखम मगर तेस्रो भएका थिए । सुशान्तले निर्धारित दुरी १ घण्टा ३ मिनेट ४४ सेकेण्डमा पुरा गर्दा अनिषले १ घण्टा ४ मिनेट १८ सेकेण्ड र अर्जुनले १ घण्टा ६ मिनेट ७ सकेण्डमा पुरा गरेका थिए ।

मेन माष्टर(भेट्रान)तर्फ काठमाण्डौका हर्क प्रथम

_DSC0619

मेन भेट्रानतर्फ काठमाण्डौका हर्क लामा प्रथम भए भने झापा काकडभिट्टाका निर्दल केरुङ दोस्रो र धरानका निर्मल राई तेस्रो भएका थिए । हर्कले निर्धारित दुरी १ घण्टा २ मिनेट ३२ सेकेण्डमा पुरा गरेका थिए भने निर्दलले १ घण्टा ८ मिनेट ४३ सकेण्ड र निर्मलले १ घण्टा २६ मिनेट ४५ सेकेण्डमा पुरा गरेका थिए ।

तस्बिर : सनम तामाङ