धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित सुर्य मार्ग (प्रस्तावित गोदावरी मार्ग)मा आरसीसी ढलान गरी शनिबारदेखि सडक सञ्चालनमा आएको छ ।

कुल ४८ लाख १७ हजार ८ सय ५९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएर आरसीसी सडक सञ्चालनमा आएको हो । यो खर्च अनुमानित लागत स्टिमेट गरेभन्दा करिब ७ हजार बढी हो । उक्त सडकको शनिबार धरान उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुबेदीले गरेकी थिइन् । उनले रिबन काटेर सडकको उद्घाटन गर्नुको साथै शिला स्तम्भको अनावरण पनि गरिन् । सडकको लम्बाई २ सय ४१ फुट रहेको छ भने चौडाई २० फुट रहेको छ । ठेकेदार कम्पनी न्यू आसिस कन्ट्रक्सनले गत वर्ष पुषदेखि निर्माण कार्य शुरु गरेको थियो ।

निर्माण शुरु भएको ६ महिनामा सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । उपमहानगरसँग २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि १८ महिना अघि नै सकिएको कम्पनीले जनाएको छ । आरसिसि सडक निर्माणको लागि उपमहानगरको ६० प्रतिशत र जनताको ४० प्रतिशत आर्थिक लगानी(जनसहभागीता)मा सडकको निर्माण गरिएको हो । उपमहानगरबाट २८ लाख ८६ हजार ३ सय ७६ रुपैयाँ र जनसहभागिताबाट १९ लाख २४ हजार २ सय ५१ रुपैयाँमा निर्माण गरिएको सुर्यमार्ग आरसिसि सडक तथा ढल निर्माण उपभोक्ता समितिका सचिब खेम गुरुङले बताए ।

S7880051

सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै कार्यबाहक मेयर सुबेदीले पूर्वाधार निर्माण गरेपछि यसको संरक्षण गर्ने दायित्व पनि सबैको भएको बताइन् । सभ्य समाजको निमार्ण गर्न सके गाउँ, टोल र नगरको विकास हुने बताउदै सभ्य समाजको निर्माणमा लाग्न सुर्यमार्गबासीलाई आग्रह गरिन् । ‘सडक पूर्वाधार विकास गर्नु मात्र विकास होइन, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सके ठाउँको विकास आफै हुन्छ,’कार्यबाहक मेयर सुबेदीले भनिन्,‘सबै भन्दा पहिला मानिसमा चेतनाको विकास हुनपर्छ ।’ अधिकार खोज्दै गर्दा कर्तव्य निर्वाह गर्ने कुरा भुल्न नहुने तर्फ सबैलाई सचेत गराइन् । वडा १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेले धेरै प्रयास पछि सुर्यमार्गको सडकलाई योजनामा पार्न सफल भएको स्मरण गर्दै सडक निर्माण भएकोमा खुशी व्यक्त गरे । वडामा अन्य टोलको सडक पूर्वाधारको समेत विकासको कामहरु अगाडि बढाउने उनले वडाबासीसँग प्रतिबद्धता जनाए ।

S7880066

कार्यक्रममा निर्माण व्यावसायी महेन्द्र प्रधान, समाजसेबी गौतम श्रेष्ठ, समाजसेवी मिना पुलामीले यो सडकको कामलाई उदाहरणीय भएको बताए । साथै, यो सडकको नमुना हेरेर अन्य पूर्वाधारको पनि विकास गर्नुपर्ने सुझाब पनि उनीहरुले दिएका थिए । वषौदेखि कच्ची सडकमा हिडडुल गर्न बाध्य स्थानीयहरु आरसीसी सडक बनेपछि खुशी छन् । स्थानीय विनोद पौडेलले घर अगाडि सडक बनेपछि निक्कै खुशी लागेको प्रतिक्रिया दिए । ‘बर्खाको बेला त पानीले बाटो खोलेर सबै लान्थ्यो,’उनले भने,‘राती हिड्दा समस्या हुन्थ्यो, अब ढुक्क भयो ।’

यो सडक कोशी राजमार्गसँग जोडिएको छ । सडकको उत्तरपटिको भागमा खहरेको कारण डिलमा भएकाले सम्भावित जोखिम हटाउनको लागि एक छेउमा रेलिङ पनि लगाइएको छ । स्थानीय उपभोक्ताले ८६ हजार ५ सय रुपैयाँको लागतमा सो रेलिङ लगाएको सडक तथा ढल निर्माण समितिका अध्यक्ष सपना राईले बताइन् । ‘खहरेको डिलको कारणले मान्छे हिडडुल गर्न र सवारी साधान दुर्घटना जोखिम न्यूनिकरणको लागि उपभोक्ताले आफै आर्थिक रकम संलकन गरेर रेलिङ लगाएको हो,’उनले भनिन् ‘रेलिङमा गमला राखेर सजाएका छौं ।’ कार्यक्रमको सञ्चालन स्थानीय तिर्थ पोख्रेलले गरेका थिए ।

S7880059