ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सिंह आयो, दरबार आएन” शीर्षकको समाचार छापिएको छ । भौगोलिक विकटता रहेको इलामको कर्णाली उपनामले परिचित इलामको दक्षिणी गाउँपालिका चुलाचुलीका जनताले यतिबेला सिंहदरबारको अधिकार गाउँगाउँमा पाउनु त परै आओस् चुनावताका भोट मागेका जनप्रतिनिधि बसेको केन्द्रसम्म पुग्नै सास्ति भएको छ । अब त घरछेउमा सहज सेवा पाइन्छ भन्ने बुझेका चुलाचुलीका जनताहरु निराश छन् । यहाँका जनताले आधारभुत सेवाबाहेक अन्य अत्यावश्यक सेवा पाउँन निकै कष्ट बेहोर्नु परेको छ । साविकको साक्फारा गाविसका ९ वटा वडालाई समायोजन गरी कायम गरीएको चुलाचुली गाउँपालिका वडा ६ का उत्तरीभेगमा यातायात, स्वास्थ्य, सुरक्षा पाउनको लागि पूरा दिन बिताउनुपर्ने बाध्यता छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “त्रियुगा सभ्यता सुरु” शीर्षकको समाचार छापिएको छ । उदयपुरबासीलाई प्रत्यक्ष प्रभाव पार्दै आएको त्रियुगा नदीलाई व्यवस्थित बनाउँदै बहुउपयोगी, दिर्घकालीन हित अनुकुल र मानवमैत्री सावित गराउन त्रियुगा नगरपालिकाले त्रियुगा सभ्यता कार्यक्रम अघि बढाएको छ । गत वर्ष बहस अघि बढाएको कार्यक्रमलाई नगरपालिकाले यस वर्ष निरन्तरता दिदैँ २ तर्फी बाँध, त्यसमा दुईदर्जन भन्दा बढी पुल, दुवैतर्फ कालोपत्रेसहितको सडक तथा सुख्खा बगर कृषि र पर्यटनयोग्य बनाउने भूउपयोग गर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “आज प्रधानमन्त्री ओली झापा आउँदै” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङका आधा दर्जन कार्यक्रममा सहभागी हुन आज आइतबार पूर्व आउँदैछन् । ओलीले दुईदिनसम्म गृहजिल्लामा बिताउने कार्यक्रम छ । काठमाण्डौँबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओली मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा ईन्जिनियरीङ कलेजको भवन उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिकामा हुने प्रदेश १ स्तरीय साहित्यिक तथा प्राज्ञिक गोष्ठिको उदघाटन गर्नेछन् ।