धरानः धरान उपमहानगरपालिका वडा नं ४ स्थित पत्रङ्गबारी सामुदायिक वन कार्यालयको मातहत रहेको लामेचौरी फुटवल खेल मैदान निर्माण विवाद सृर्जना भएको छ ।

स्थानीय युवाहरुले नगरको बजेटबाट मापदण्ड वमोजिमको फुटबल खेल मैदान नबनाएको आरोप लगाएका छन् । साथै, उनीहरुले जनभावना अनुसार ११ जना खेल्न मिल्ने गरी फुटबल मैदान बनाउन उपमहानगरपालिकासँग माग पनि गरेका छन् । ‘हामीले भविष्यलाई पनि हुने गरी मैदान बनाउन माग गरेका हौ, खेलकुद विकास समितिमा पनि निवेदन दियौ,तर सुनुवाई भएन,’स्थानीय सम्राट क्षेत्रीले भने,‘अहिले ग्राउण्ड सानो छ, मापदण्ड नपुग्ने गरी लगानी नगरौ भन्ने हाम्रो माग हो ।’

foot

क्षेत्रीका अनुसार यो मैदानमा वडा ४ बाट मत्र नभएर वडा ५ र १५ बाट पनि युवाहरु फुटबल खेल्न आउछन् । महत्वपुर्ण मैदान भएकोले नै ११ जना खेलाडी खेल्न मिल्ने मापदण्डमा बनाउन आफुहरुले लिखितरुपमा नै माग गरेको उनले बताए । ‘अहिल्यै कम्पाउण्ड वाल नउठाइहालौ, पछि मैदान बढाउन सकिन्छ भनेर आग्रह गर्यौ,’उनले भने,‘यत्रो लगानी गरेपछि खेर नजाओस्, मापदण्डअनुसार बनोस् भनेको सुनुवाई भएन । कम्पाउण्ड वाल लगाउदा पनि धेरै त्रुटी छ ।’ यो मैदानको लागि उपमहानगरले गत आर्थिक बर्षमा १० लाख बजेट विनियोजन गरिएको थियो भने यो बर्ष ४ लाख विनियोजन गरेको छ । अहिले मैदानमा वाल उठाउने कार्य भइरहेको छ ।

लाथ्रा काट्न सकिन्नः वडा कार्यालय

footsss

४ नं वडा कार्यालयले भने ११ जना खेलाडी खेल्न सक्ने मैदान बनाउन चाहे पनि धेरै लाथ्रा काट्नु पर्ने भएकोले सम्भव नभएको जनाएको छ । वडा सदस्य धनबहादुर कुलुङले लाथ्रा काटेर मैदान बढाउनुपर्छ भन्ने माग पुरा हुन नसक्ने पनि बताए । ‘लाथ्रा काटेर भएपनि चौरी बढाउनुपर्छ भन्छन्, त्यो कसरी मिल्छ ?’उनले भने,‘वन कार्यालयसँग समन्वय गर्दा नहुने भएपछि ९ जना खेल्न मिल्ने नै मैदान बन्दैछ ।’

फुटबल मैदानको काम अघि बढ्नै हुदैन भनेर विवाद झिकिएको उनले बताए । ११ जना खेल्न मिल्ने मैदान बनाउदा सयौं लाथ्रा काट्नु पर्ने र त्यो सम्भवै नहुने भएकोले भएको खेलकुद पुर्वाधार उपयोग गर्न उपमहागनगरले लगानी गरेको उनले बताए । नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले पनि रुख काट्न नपाइने भएकैले ९ जना खेल्ने मैदान तयार गरिएको बताए । ‘हामी पनि सकेसम्म ११ जना खेल्न मिल्ने नै मैदान होस् भन्ने चाहन्छौ, तर जंगल फडानी गरेर त सम्भव नहुने भयो,’उनले भने,‘त्यसैले ९ जना खेल्न मिल्ने भएपनि मैदान तयार गर्दैछौ ।’