ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सरकारी जमिन बिना अनुमति खनजोत” शीर्षकको समाचार छापिएको छ । बिना अनुमति सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ मा पर्ने श्रीलङ्का टापुको गरैयास्थित २ सय ३० बिघा सरकारी जग्गामा ट्याक्टर लगाएर खनजोत गरिएको छ । उदयपुरका नारायण कार्कीसहितको समूहले सरकारी जग्गा जोतेपछि स्थानीयबासी विरोधमा उत्रिएका छन् । स्थानीय रघु चन्द्रवंशीका अनुसार स्थानीयबासीले पहिला जोतभोग गर्दै आएको सो जमिन विद्यालय, स्वास्थ्यचौकी, मन्दिर र गौचरनका लागि भनेर छाडिएको थियो । अहिले कार्कीको समूहले सातवटा ट्याक्टर लागएर जोतेपछि आफुहरु विरोधमा उत्रिएको उनि बताउँछन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “मुद्दा हाल्ने मजदुरको चेतावनी” शीर्षकको समाचार छापिएको छ । सात वर्ष अघि रत्ना होटलबाट निकालिएका ४ जना मजदुरलाई खाइपाई आएको सेवा, सुविधासहित पूनर्वहाली गर्न असार २७ गते सर्वोच्च अदालतले फैसला गर्यो । श्रम अदालत हुँदै पुगेको मुद्दामा सर्वोच्चले फैसला गरेको ९ महिना वितिसक्दा पनि मजदुरले पारिश्रमिक र पूनर्वहाली दुवै पाएका छैनन् । आईतबार पत्रकार सम्मेलन गरी रामेश्वर बुढाथोकी, दुर्गा उप्रेती, पारश गुरुङ र विश्वबन्धु खड्काले सर्वोच्चको फैसला कार्यान्वयन नगरी चरित्रहत्या गर्ने प्रयास गरेकाले पून अदालतको ढोका ढकढक्याउने बताए । अदालतको फैसला अनुसार पारिश्रमिक नदिएको होटल प्रशासनले चरित्रहत्या गर्ने प्रयास गरेको उनीहरुको गुनासो छ ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “आरोपीलाई सार्वजनिक गर्न माग” शीर्षकको अर्को समाचार पनि छापिएको छ । मोरङको बेलबारी ४ की रमिला राईको हत्या आरोपमा पक्राउ परेका योगेन्द्र गुरुङलाई बेलबारीमा सार्वजनिक गर्न पीडित परिवारले माग गरेका छन् । रमिलाका आमा, बुबा र छोरीसहित उल्लेख्य संख्यामा उपस्थित आफन्तजन र गाउँलेले पत्रकार सम्मेलन गर्दै हत्यारालाई हदैसम्मको कार्वाहीको माग गर्दै बेलबारीमा सार्वजनिक गर्न माग गरेका हुन् । प्रहरीले सुरक्षाका कारण बेलबारीमा सार्वजनिक गर्न नसक्ने बताउँदै हत्या प्रकरणबारे जिल्लाबाटै अनुसन्धान भइरहेको बताएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पूर्वउपाध्यक्षद्वारा अध्यक्ष कुटिए” शीर्षकको समाचार छापिएको छ । सामुदायिक वन उपभोक्ता समूहको वनमा डढेलो लगाउने एक पूर्व पदाधिकारीले वर्तमान अध्यक्षमाथि कुटपिट गरेका छन् । आफैले नेतृत्व गरिसकेको त्रियुगा नगरपालिका १३ स्थित असारी सामुदायिक वन उपभोक्ता समूहका पूर्वउपाध्यक्ष विष्णुबहादुर थापाले अध्यक्ष वर्णलाल दाहालमाथि कुटपिट गरेका हुन् । डढेलो लगाउँदै गरेको बेलामा गस्तीको क्रममा भेटेर त्यसो नगर्न सचेत गराउँदा पूर्वउपाध्यक्ष थापा अध्यक्षमाथि नै कुटपिटमा उत्रिएका डिभिजन कार्यालय उदयपुरले जनाएको छ ।