आसफोर्ड(बेलायत) : विश्व नेपाली साहित्य महासङ्घले सन् २०२० मा नेपालमा बृहत पर्यावरणीय साहित्य सम्मेलन आयोजना गर्ने भएको छ । इको साहित्यलाई प्रबद्र्धन गरिरहेको महासङ्घको बेलायतस्थित साउथ यूके शाखाले आगामी वर्ष सम्मेलन आयोजना गर्नेछ ।

शनिबार आसफोर्डमा शाखाको तेस्रो स्थापना दिवस तथा अर्थ आवरको अवसर पारेर आयोजना गरिएको सिर्जना वाचन तथा गायन कार्यक्रममा सम्मेलन आयोजना गर्ने घोषणा गरिएको थियो । वातावरणीय साहित्यको महत्वलाई बहसमा लैजान जून ५ मा पर्ने विश्व वातावरण दिवसका अवसरमा साहित्यकर्मीहरूको बृहत जमघट गराउने परिकल्पनाकार विजय हितानले बताए । शाखाका पूर्व अध्यक्ष समेत रहेका हितानले वातावरणीय सङ्कटलाई साहित्यका माध्यमबाट प्रकट गर्न आफूहरूले निरन्तर रूपमा इको साहित्यमार्फत अभियान चलाइरहेको बताए । ‘बढ्दो जलवायु परिवर्तनका असरबारे लेखक साहित्यकारहरू तातिने बेला भएको छ,’ उनले भने, ‘काठमाडौँ सम्मेलनमार्फत् हामी सबैलाई पृथ्वीको पर्यावरण जोगाउन आह्वान गर्नेछौँ ।’ वातावरण संरक्षणकर्मी समेत रहेका हितानले सम्मेलनलाई सफल बनाउन एक व्यक्ति एक पाउण्ड सहयोग सङ्कलन अभियान सुरु गरिएको समेत बताए । नेपालमा रहनेहरूले भने सय रूपैयाँ प्रतिबद्धता शुल्कबापत बझाउन सक्नेछन् ।

यसैगरी, विनेसाम साउथ यूकेको स्थापना दिवसमा डेढ दर्जन बढी कविहरूले आफ्नो सिर्जना प्रस्तुत गरे । कविहरू सेमन्त राई, सुरेन्द्र इङ्नाम, अमित थेवे, लाहाङ चेम्जोङ, औँतारी साइँला, विश्वासदीप तिगेला, विजय हितान लगायतले पर्यावरणीय कविताहरू सुनाए । स्थानीय केन्ट लिटरेरी ग्रुपमा आबद्ध बेलायती कविहरू फेलिसिटी के र मुर्रे हेलउडले आफ्ना रचनाहरूमार्फत वातावरणीय सङ्कटबारे बोले । त्यस्तै, सुरेन्द्र र सेमन्तको जोडीले बाँसुरी र मादल वाद्यवादन प्रयोग गरेर गीतका धूनहरू प्रस्तुत गरे । कार्यक्रम सञ्चालक थिर थापा मगरले पनि इको गीत सुनाए । महासङ्घसम्बद्ध लेखकहरूका प्रकाशित कृतिहरू उपर पनि दुई सर्जकले समीक्षा प्रस्तुत गरे । लेखक गणेश पुनले गीतकार भावेश भुमरीको नियात्रा सङ्ग्रह ‘भिषाको रङ’ बारे धारणा राखे । कवि थेवेले हितानद्वारा लिखित निबन्ध सङ्ग्रह ‘इको उत्सर्जन’ माथि चर्चा गरे । कार्यक्रममा बीएफबीएस गोरखा रेडियोका स्टेसन प्रमुख योगराज राई, नेपाल अािदवासी जनजाति महासङ्घ यूकेका पूर्व अध्यक्ष तुल छन्त्याल, कल्पना हितान, भोजकुमारी लिम्बु, भावना सिङ्गक चेम्जोङको पनि उपस्थिति रहेको थियो ।

सन् २००७ मा अष्ट्रेलियाको सिड्नी सहरबाट सुरु भएको अर्थ आवरलाई विश्वकै भुइँ तहबाट सञ्चालन गरिने सबैभन्दा ठूलो वातावरणीय चेतनाको अभियान मानिन्छ । यो अभियानअन्तर्गत प्रत्येक मार्चको अन्तिम शनिबार करोडौँ अभियानकर्मीहरूले बेलुकी ८ः३० बजेदेखि एक घण्टासम्म आफ्नो घरको बत्ती बिजुली निभाएर कार्बन उत्सर्जन कटौतीको अभियानमा ऐक्यबद्धता व्यक्त गर्छन् । अर्थ आवर विश्व वन्यजन्तु संरक्षण कोष(डब्लू डब्लू एफ)को पहलमा सुरु भएको कार्यक्रम हो ।