बारा : आइतबार राति आएको भीषण आँधीमा परी बारा र पर्साका विभिन्न ठाउँमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

रातको समयमा घटना भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको भन्दै यो संख्या अझै बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । ४ सय भन्दा धेरै मानिस घाइते भएका छन् ।
असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति र्पुयाउँदा ठूलो संख्यामा हताहत भएका छन् । आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।
झण्डै आधाघण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घर भत्किएका छन् । सयौं घरका टिनका छानाहरु आँधीले उडाएको छ । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ ।
त्यसैगरी भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका स्थानमा धेरै मानवीय क्षति भएको बताइएको छ । घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि प्रहरी, सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएका छन् ।

55827007_419548395288016_5328313707040604160_n
घाइतेहरुको वारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिरहेका छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति नै ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उद्धार र उपचारमा कुनै कमी आउन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३१ जनाको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।