धरान(डेस्क): प्रदेश नं २ को बारा र पर्सामा आइतबार राती आएको हावाहुरीले ठुलो जनधनको क्षति पुगेको छ । करिब ८ बजेतिर आएको हावाहुरीले घरहरु भत्काइदिएको छ भने मानवीय क्षति पनि ठुलो संख्यामा भएको छ ।

हाल प्रभावित क्षेत्रमा उद्दार कार्य चलिरहेको छ । स्थानीयका अनुसार पीडितहरुलाई अहिले पानी र खाद्यान्नको अभाव छ । रातीको खाना पकाउदै गर्दा र कसैले खाना खाइरहेको समयमा हुरीवतास आएर क्षति पुगेको हुनाले पीडितहरु रातभरि भोकै छन् । क्षतिग्रस्त क्षेत्रमा रहेका बाराका पत्रकार बसन्त खवितडाका अनुसार खाना र पानी नपाएर अहिले प्रभावित क्षेत्रमा विजोग अवस्था छ । प्रहरी प्रशासन उद्दार कार्यमा केन्द्रीत रहेकोले पीडितहरुलाई खाद्यान्न र पानी उपलब्ध गराउन उनले आग्रह गरेका छन् । ‘बच्चा र वृद्धवृद्धाहरुको अवस्था नाजुक छ, रातभरि भोकै छन् । हुरीपछि पानी परेकोले अवस्था दयनीय छ,’पत्रकार खतिवडाले भने ।

huri batas

पिउने पानीको लागि विगतमा पनि मोटरले तान्नुपर्ने अवस्था थियो । राती हुरीले विजुलीको पोलहरु ढलेर विद्युत आपुर्ति पनि ठप्प छ । चापकल पनि भाँचिएको छ । पत्रकार खतिवडाका अनुसार हावाहुरी प्रभावित क्षेत्रमा कुनै पनि घर बचेको छैन । खरले छाएको, पक्की घर सबै नै ढलेका छन् । ‘अवस्था हेर्दा हजारौ संख्यामा घर ढलेका छन्,कुनै सुरक्षित छेन,’उनले भने । केही संघसंस्थाले चाउचाउ, चिउरालगायत राहत आएपनि त्यो बालबालिका र वृद्धवृद्धालाई उपयुक्त नहुने र पर्याप्त नभएको उनले बताए ।

बाराका डिएसपी हेमबहादुर शाहीले पनि प्रहरी रातीदेखि नै उद्दार कार्यमा जुटीरहेको बताए । राती विजुली नहुदा उद्दार कार्य प्रभावित भएपनि बिहानैदेखि तीब्रगतिमा उद्दार भइरेको छ । उनले पनि खाना र पानीको अभावले पीडितहरुलाई थप समस्या बनाएको बताए । ‘घर छैन, पानी छैन, विजुली छैन,’डिएसपी शाहीले भने,‘रातभरि भोकै बस्नुपरेको छ, बालबालिका र वृद्धवृद्धालाई धेरै समस्या छ ।’