धरान: गण्डकी प्रदेशस्थित पोखरा महानगरापालिकाको लेखनाथ क्षेत्रका पर्यटन तथा होटल व्यवसायीहरु बेगनास तालको पर्यटन प्रर्वद्धन गर्न प्रदेश १ मा आएका छन् ।

गन्तव्य बेगनास अभियान लिएर धरान आइपुगेको व्यवसायीहरुको टोलीले धरानका पर्यटन तथा होटल व्यवसायीहरुसँग पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न ५ बुँदे प्रस्ताव पनि गरेका छन् । उनीहरुको प्रस्तवमा आआफ्नो ठाउँको पर्यटन प्रर्वद्धन तथा बर्षमा एक पटक अवलोकन भ्रमण गर्नेसहित दुवैतर्फको होटल तथा रेष्टुरेष्टमा १५ प्रतिशत छुटको व्यवस्था गर्ने पनि उल्लेख छ । आज सोमबार होटल कञ्चनजंघामा आयोजित अन्र्तक्रिया कार्यक्रममा लेखनाथ होटल तथा रेष्टुरेष्ट एशोएिशनका अध्यक्ष कृष्णप्रसाद तिम्सिनाले यो ५ बुँदे प्रस्ताव होटल एशोसिएशन अफ धरानका अध्यक्ष सरोज भटराईलाई हस्तान्तरण गरेका थिए ।

begnash

लेखनाथ होटल एशोसिएशनले बैठकबाट पारि गरेर नै धरानलाई प्रस्ताव गरेको जनाएको छ । धरान होटल एशोसिएशनले प्रस्तावको स्वागत गरेपनि बैठकबाट निर्णय गरेर दुवै पक्षबीच हस्ताक्षर गरी औपचारिकरुपमा सहकार्यको शुरुवात गर्ने जनाएको छ । लेखनाथको प्रस्तावमा एकआपसमा अनुभव साटासाट गरेर पारस्परिक सम्बन्ध कायम गर्ने र हरेक बर्ष कम्तीमा एक पटक वेगनासताल क्षेत्र तथा धरान क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले अध्ययन अवलोकन भ्रमणको आयोजना गर्ने उल्लेख गरिएको छ ।

यस्तै, एकअर्काको क्षेत्रको व्यवसायिक विकास तथा पर्यटन प्रर्वद्धनको लागि संयुक्त प्रयास गर्ने, वेगनास आउने पर्यटकहरुलाई धरान क्षेत्रको र धरान आउन पर्यटकहरुलाई वेगनास क्षेत्रको बारेमा पनि सिफारिश गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै, अर्को महत्वपुर्ण प्रस्तावमा एकआपसका क्षेत्रहरुको भ्रमण गर्दा दुवैतर्फबाट होटल तथा रेष्टुरेष्ट विलमा १५ प्रतिशत छुटको व्यवस्था गरि व्यवसायिक फिलोसिपको विकास गर्ने उल्लेख छ । ‘उहाँहरुको प्रस्ताव एकदमै स्वागत योग्य छ, हामी बैठक बसेर नै यसबारेमा ठोस निर्णय गछौं,’ धरानका अध्यक्ष भटराईले भने ।

begnash-taal4

कार्यक्रममा लेखनाथ होटल एशोसिएशनका निवर्तमान अध्यक्ष दामोदर भक्त राना, धरानका पुर्वमेयर मनोजकुमार मेन्याङबो, नेपाल पर्यटन बोड पोखराका प्रबन्धक सुर्य थपलिया, धरान उपमहानगरअन्र्तगतको पर्यटन विकास समिति सदस्य एलिना मगर, होटल गजुर प्यालेसका सञ्चालक गोपाल आचार्य, होटल नवयुगका सञ्चालक प्रमेश श्रेष्ठले पनि एक आपसमा सहकार्य गरेर पर्यटन प्रर्वद्धन गर्न र पर्यटक भित्र्याउन पहल गर्नुपर्नेमा जोडदिएका थिए । लेखनाथका व्यवसायीहरुले सोमबार बिहान भेडेटार र धरानको धार्मिक पर्यटकीय क्षेत्रहरुको अवलोकन, भ्रमण पनि गरेका थिए । टोली मंगलबार झापाको विर्तामोडमा त्यहाँका पर्यटन व्यवसायीहरुसँग पनि अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको छ ।