विराटनगर: मोटरसाइकल चोरीको घटनामा प्रहरीले एमबीबीएस अध्ययनरत विद्यार्थी र पत्रकारसमेत गरी ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले माउण्टेन टेलिभिजन विराटनगरमा क्यामेरामेनकोरुपमा कार्यरत मनोजकुमार चौधरीलाई पनि मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । यस्तै, नोबेल मेडिकल कलेज विराटनगरमा एमबीबीएस अध्ययनरत विद्यार्थी विजयकुमार यादव पनि समातिएका छन् । यस्तै, विराटनगर महानगरपालिका १४ का अनुज यादव, सोनेलाल महत्तो र सिरहा नगरपालिका २२ का सुनिल यादव पनि पक्राउ परेका छन् । उनीहरुबाट ५ वटा चोरीको मोटरसाइकल पनि वरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका विजय र मनोजको साथबाट तीनवटा मोटरसाइकल बरामद भएको छ । उनीहरु नोबेल मेडिकल कलेजमा चोरीमा संलग्न भएको आरोपमा समातिएका हुन् । नोबेलबाट अत्यधिकरुपमा मोटरसाइकल हराउन थालेपछि प्रहरीले निगरानी बढाएको थियो । त्यसक्रममा एमबीबीएस अध्ययनरत विद्यार्थी र पत्रकारसमेत प्रहरी नियन्त्रणमा पुगेका हुन् । पक्राउ परेका विजय नोवल मेडिकल कलेजमा नै एमबिबिएस अध्ययनरत छन् । उनी हाल इन्टर्न गरिरहेका छन् ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार सादा पोशाकमा प्रहरी परिचालन गरेर घटनाहरुको सुक्ष्मढंगले अनुसन्धान भइरहेको थियो । पक्राउ परेका एमबिबिएस विद्यार्थी विजयले आफु बस्ने डेरालाई नै चोरीको सामान लुकाउन प्रयोग गरेको प्रहरीले जनाएको छ । उनको डेराबाट माटेरसाइकलको पार्टपुर्जा, रंग फेर्न प्रयोग हुने स्प्रेलगायतका सामानहरु पनि वरामद गरेको प्रहरीले जनाएको छ । यस्तै, पक्राउ परेका विजयको वयानको आधारमा नै माउण्टेन टेलिभिजनमा क्यामेरा मेन चौधरी पनि पक्राउ परे । दुवै जना साथी भएको खुलेको छ । क्यामेरामेन चौधरी ग्यारेजमा काम गर्ने गरेको र आफ्नो अपराध लुकाउनकै लागि मिडियामा आवद्ध हुन पुगेको पनि प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका पाँचै जनालाई मुलुकी फैजदारी अपराध (संहित) २०७४ अनुसार म्याद थप गरी अनुसन्धानमा राखेको छ ।

तस्बिर स्रोत:मोहन मानन्धरको फेसबुक