धरान:पुर्वी नेपाल पर्यटनको क्षेत्रमा भर्जिनल्याण्ड भएको यहाँका व्यवसायीहरुले बताएका छन् । साथै, सरकार र पर्यटनकर्मीहरुले पुर्वको पर्यटकीय गन्तव्यहरुको उजागर गर्नुपर्नेमा पनि उनीहरुले जोडदिएका छन् ।

सोमबार धरान ८ स्थित होटल कञ्चनजंघामा पोखराको लेखनाथ होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुसँगको अन्र्तक्रियामा धरानका पर्यटन तथा होटल व्यवासायीहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा धरानका पुर्वमेयर तथा होटल कञ्चनजंघाका सञ्चालक मनोज मेन्याङ्बोले पुर्वमा पनि प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक पर्यटनको सम्भावना भए पनि उजागर हुन नसकेको बताए । उनले पर्यटनको क्षेत्रमा पुर्वको भुमि भर्जिनल्याण्डको रुपमा नै रहेको पनि बताए । उनले भने,‘पुर्वको पर्यटन भर्जिन छ, जुनढंगले उजागर हुनुपर्ने हो, त्यसरी हामीले उजागर गर्न सकिरहेको छैनौ ।’

धरान उपमहागरपालिकाअन्र्तगतको पर्यटन समितिकी सदस्य तथा युवा पर्यटन व्यवसायी एलिना मगरले पनि धरानसँगै पुर्वको गन्तव्यहरुको प्रर्वद्धन अझै गर्नुपर्ने बताइन् । धरानमा पर्यटकहरु ज्यादै कम मात्र आउने गरेको भन्दै उनले पर्यटकहरुको लागि धरान र आसपासको गन्तव्यहरु नौलो(भर्जिन) हुने बताइन् । पोखराको लेखनाथबाट बेगनास तालको प्रर्वद्धन गर्न आएको व्यवसायीहरुसँग उनले भनिन्,‘हामी पनि बेगनासलाई प्याकेजमा समावेश गरेर पर्यटनलाई त्यहाँसम्म लैजाने कोसिस गछौ, तपाईहरुले पनि धरानलाई प्याकेजमा अटाउनुहोला ।’

होटल एशोसिएशन धरानका अध्यक्ष सरोज भटराई, पुर्वअध्यक्ष एवं होटल नवयुगका सञ्चालक प्रमेश श्रेष्ठ, होटल गजुर प्यालेसका सञ्चालक गोपाल आचार्यले पनि पुर्वक्षेत्रमा थुप्रै पर्यटकीय गन्तव्यहरु भएपनि पर्यटकहरुको आगमन भने न्युन हुने गरेको बताए । यद्यपी, आफुहरु पर्यटकको स्वागतमा सधै तयार रहेको उनीहरुको भनाई थियो । नेपाल पर्यटन बोड पोखराका प्रबन्धक सुर्य थपलियाले पोखरा र पुर्वका पर्यटन व्यवसायीहरुबीचमा संस्थागत सहकार्य गराउन गन्तव्य वेगनास कार्यक्रम लिएर पुर्व आएको बताए । ‘गन्तव्यमका पर्यटन व्यवसायीहरुबीचमा आपसी सम्बन्ध, सहकार्यको कमी छ, यसले गर्दा पर्यटनको प्रर्वद्धन र विकासलाई नै असर पुगिरहेको छ,’थपलियाले भने,‘त्यसैले प्रत्यक्ष र संस्थागत सम्बन्ध, सहकार्य होस् भन्ने चाहेर पुर्व आएका छौ ।’