ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अहेवले धानेको इनरुवा अस्पताल” शीर्षकको समाचार छापिएको छ । इनरुवा अस्पतालको सेवा पछिल्लो २ महिनायता निरन्तर खस्कँदो अवस्थामा छ । अस्पतालले लामो समययता नियमित डाक्टर अभाव झेल्दैँ आइरहेको छ । नियमितरुपमा दरवन्दि अनुसारको डाक्टर नबस्ने समस्या इनरुवा अस्पतालका लागि सामान्य बनेको छ । आम सर्वसाधारणको हेराइमा छवि धमिलिदैँ गएको अस्पतालको साख पछिल्ला दिन अझ खस्केको छ । अस्पतालमा उपचारका लागि पुग्ने विरामीको संख्यासमेत घट्दो छ । सर्वसाधारणप्रतिको विश्विसनीयता गुम्दै जादाँ इनरुवा अस्पतालमा दरबन्दिअनुसारको डाक्टरको अनुपस्थितिसमेत प्रमुख कारकका रुपमा देखिदैँ आएको छ । डाक्टर नै नभेटिने र भनेजस्तो उपचार तथा औषधीसमेत नपाइने भएपछि पछिल्लो समय इनरुवा क्षेत्रकै नागरिकसमेत आपतकालिन अवस्थाबाहेक उपचारका लागि इनरुवा अस्पताल जान छाडेका छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “रेल्वेको काम कमसल” शीर्षकको समाचार छापिएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म निर्माणाधिन रेलमार्गमा कमसल काम हुने गरेको पाइएको छ । निमाणाधीन विराटनगर बथनाहा रेल्वेको लिकको बीचमा पानी बग्न बनाइएको नाला भत्किन थालेपछि कमसल काम हुने गरेको रहस्य बाहिरिएको हो । केही महिनाअघि सो रेल्वे लिकमा भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्म पहिलोपटक रेलको इन्जिन परिक्षण गरिएको थिायो । निर्माणाधीन रेल्वे परियोजनाको पहिलो चरणमा नेपाल र भारततर्फ जम्मा ८ किलोमिटर क्षेत्रको काम हुँदै आएको बताइएको छ । काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी भइरहेको बेला कमसल काम बाहिर आएको हो । भारतीय निर्माण कम्पनी इरकोनले सो निर्माणको काम गर्दै आएको छ ।

त्यसैगरी आजको उद्घोष दैनिकमा “शल्यक्रियाको खर्च तिर्न नसक्दा मृत्यु” शीर्षकको अर्को समाचार पनि छापिएको छ । दुहवी नगरपालिका १० का ३० वर्षीय भीम उरावको नोवेल शिक्षण अस्पाताल विराटनगरमा रकम तिर्न नसक्दा मृत्यु भएको छ । स्थानीय शंकर चौधरीले लगाएको टिकको रुख काट्ने क्रममा सोही रुखले किचेर शनिबार उराव गम्भिर घाइते भएका थिए । प्रहरीका अनुसार, अस्पतालले टाउकोको उपचार गर्न ७ लाख रुपैयाँ लाग्ने जनाएपछि घाइतेलाई घर लगिएको थियो । आइतबार घर लगिएको घाइते उरावको बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “राजविराजमा विमानसेवा ठप्प” शीर्षकको समाचार छापिएको छ । २०५२ सालपछि पछिल्लो असार १० गतेदेखि नियमित विमानसेवा सञ्चालन भएको सप्तरीस्थित राजविराज विमानस्थलमा पुनः विमानसेवा ठप्प भएको छ । पटकपटक सञ्चालनमा आउने र बन्द हुने नियति यस विमानस्थलले भोग्दै आएको छ । पक्की धावनमार्ग तथा यात्रु अभावका कारण राजविराज विमानस्थलमा ०५२ यता नियमित उडान ठप्प भएको थियो । यद्यपी पछिल्लो पटक सरकारले यस विमानस्थलमा पक्की धावनमार्ग सहितका पूर्वाधार निर्माण गरेपछि पछिल्लो असारबाट यहाँ नियमित विमानसेवा सुरु भएको थियो ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “कारागारमै कोरीयन र जापानिज भाषा सिक्दैँ” शीर्षकको समाचार छापिएको छ । रामधुनी नगरपालिकास्थित झुम्का कारागर पछिल्लो समय सुधार गृहको रुपमा परिचित बन्दै गएको छ । कारागारमा शिपमुलक तालिम, पठनपाठनमा एकग्रता देख्दा त्यहाँ कैदीबन्दीहरु होइन, तालिम केन्द्रमा प्रशिक्षार्थीहरु व्यस्त रहेको जस्तो देखिन थालेको छ । अझ निजी रुपमा शुल्क तिरेर चाइनिज, कोरीयन, जापानिज भाषा समेत सिक्न सक्ने व्यवस्थाले उनीहरु वैदेशिक रोजगारीको तयारीमा रहेको देखिन्छन् । यो अवस्था कारागारलाई सुधार गृहको रुपमा विकास गरिने सरकारको नितिअनुसार झुम्का कारागार हालको अवस्थामा आएको हो । नेपालको दोश्रो ठुलो कारागार भएपनि केही यसको अवस्था दयनिय थियो ।