काठमाडौं : आइतबार साँझ करिब पौने आठ बजेतिर आएको विनाशकारी हावाहुरी थामिए पनि त्यसले पुरैनियावासीलाई सोत्तर बनाएर छाडेको छ ।

फेटा चोकबाट गाउँ पस्ने मूल बाटोबाट पुरैनियातिर प्रवेश गर्नेबित्तिकै ढलेका रुख, जरैबाट उखेलिएका बाँसका घारी देखिन्छन् । घरहरु भत्केको, भकारीको धान छरिएको र बिजुलीको खम्बा ढलेको देखिन्छन् ।

अगाडि बढ्दै जाँदा लहरै घरहरु भत्केर छरपस्ट छन्, फुसका घर कहाँनिर खडा थिए भन्ने ठम्याउन पनि कठिन छ । अर्धपक्की इँटको भित्ता र साधारण छानो भएका घरमा बढी क्षति पुगेको छ । एउटै छानोसमेत सद्दे छैन । घरबाट उछिट्टिएर भित्ता पर पुगेका छन्, इँट छरिएका छन् । –नागरिक दैनिकबाट