मोरङ:प्रेमीकाको हत्या गरेको अभियोगमा पक्राउ परेका बेलबारीका साविक एमालेका अध्यक्ष योगेन्द्र गुरुङले विवाह गर्न दबाब दिएपछि बेलबारी ४ की २६ वर्षीय रमिला राईको हत्या गरेको खुलेको छ ।

हत्याकाण्डको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रमिलाले विवाह गर्नुपर्ने भन्दै दबाब दिएपछि आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन गुरुङले हत्या गरेको खुलेको छ । राजनीतिमा पनि सक्रिय र सामाजिकरुपमा पनि गनिएका गुरुङको आफ्नै परिवार थियो । त्यसैले रमिलासँग प्रेम सम्बन्ध राखेपनि उनी विवाह गर्न भने सक्दैनथे । तर, रमिलाले विवाह गर्न दबाब दिएपछि गुरुङले हत्या गर्न पुगेको अनुसन्धानबाट देखिएको ती अधिकृतले बताए । 'योगेन्द्र सामाजिक र राजनीतिकरुपमा गाउँसमाजमा गनिएको, चिनिएको व्यक्ति थिए, आफ्नै परिवार पनि थियो,'अनुसन्धान अधिकृतले भने,'त्यसैले प्रेमिकालाई विवाह गर्न सम्भव थिएन, तर रमिलाले विवाह गर्न दबाब दिएर हल्लाखल्ला गर्न खोजेपछि हत्या गरेको देखिन्छ ।'

योगेन्द्रले फागुन १७ गते राती आफनै घरमा रमिलाको हत्या गरेका थिए । रमिलाको शवलाई उनले बोरामा हालेर कोशी ब्यारेजमा फालेका थिए । प्रहरी अनुसन्धानबाट योगेन्द्रले रमिलाको हत्या गरेको हुनसक्ने प्रमाण भेटिए पछि उनलाई पक्राउ गरेको थियो । उनले कोशीमा शव फालेको वयान दिएपनि रमिलाको शव हत्या भएको २६ दिनपछि मात्र गएको बुधबार भेटिएको थियो । प्रहरीले उनलाई कर्तव्य ज्यानमा अनुसन्धानसमेत पुरा गरेर मिसिल सरकारी वकिलको कार्यालयमा मंगलबार बझाएको छ ।