ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अझै अन्यौल नाम र राजधानी” शीर्षकको समाचार छापिएको छ । मुलुकले सङ्घीयताको अभ्यास थालेको पनि एक वर्ष पूरा भइसकेको छ । सङ्घीयताको अभ्यास थालेका सात प्रदेशमध्ये तीनवटा प्रदेशले नाम र राजधानी टुङ्गो लगाइसकेका छन् । हालसम्म ४, ६ र ७ नम्बर प्रदेशले नाम र राजधानी पाइसकेको छ । तर, प्रदेश १ ले भने अहिले पनि नाम र राजधानीको टुङ्गो लगाउन सकेको छैन । नाम र राजधानीको विषयमा प्रदेश सरकार गम्भिर बन्न नसकेको आरोप पनि लाग्न थालेको छ । चिया गफ तथा सामाजिक सञ्जालहरुमा नाम र राजधानी के हुने भन्ने व्यापक बहस भएपनि प्रदेश १ को सरकारले नाम र राजधानीको टुङ्गो लगाउन अहिले पनि सकेको छैन । नेपाली कांग्रेस इटहरीका नगरसभापति हेमकर्ण पौडेलले बहुमतको सरकारले नाम र राजधानीसमेत टुङ्गो लगाउन नसक्नु लाजमर्दो भएको तर्क गरे । प्रदेश एकको नाम र राजधानीको विषयमा गम्भीर हुन प्रदेश सरकारलाई उनको आग्रह छ । नेकपाका युवा तथा सगरमाथा आरोही मदन चूडालले प्रदेशको नाम र राजधानीको विषय चाँडो अन्त्य हुनुपर्ने उनको माग छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “सडक पुग्यो, गाडी पुगेन” शीर्षकको अर्को समाचार पनि छापिएको छ । याम्फुदिनका फजुङ लामालाई ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङसम्म आइपुग्न दुईदिन लाग्छ । गाउँसम्म सडक पुगे पनि गाडी चढ्न भने एकदिन आधा सडकै सडकै पैदल हिडँनुपर्छ । याम्फुदिनबाट हिँडेर एक दिनमा खेवाङ आइपुगिन्छ । खेवाङबाट विहानै उठेर फेरि करिब ६ घण्टाको पैदल यात्रापछि हप्पुखोला पुगिन्छ । अनि त्यहाँबाट मात्रै गाडी चढ्न पाईन्छ । त्यो पनि सिट पाउनका लागि तीनदिन अघि नै टिकट काउण्टरमा फोन गर्नुपर्छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “कोशीमा भारतीय मनपरी” शीर्षकको समाचार छापिएको छ । कासीमा दशकौदेखि चलेको भारतीय मनपरीले बस्ती सधैँ जोखिममा पर्दै आएका छन् । तर, भारतसंग केही भन्न नसक्ने, उसको गतिविधिमा रोक लगाउन नसकने नेपाली पक्षको कमजोरीले कोसी किनारका हजारौँ नागरिक बर्सेनि डुबान र कटानको बाध्यता सहन बाध्य छन् । गत वर्ष भदौको दोस्रो साता कोसी नदीमा आएको बाढीले सप्तकोशी नदीको पश्चिमी तटबन्धसंग जोडिएर रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै एक हजारभन्दा बढी घरहरु तीन सातासम्म पूर्णरुपमै डुबानमा रहेका थिए । झण्डै एक महिनाभन्दा बढी समय बाढीपीडितले डुबानकै त्रासमा दिन विताउनुपरेको थियो । बाढीले कुनै मानवीय क्षति नभएपनि सर्वसाधारणले झण्डै ८० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको दुवै स्थानीय तहको तथ्यांकले देखाउँछ ।

त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “जनतालाई उत्साहित पार्ने काम गर्न सकेनौँः आङबो” शीर्षकको अर्को समाचार पनि छापिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इनद्रबहादुर आङ्वोले जनतालाई उत्साहित पार्नेगरी सरकारले काम गर्न नसकेको बताएका छन् । विकास र समृद्धीको सपना पछ्याउदै अघि बढ्ने प्रयास गरेपनि विभिन्न अवरोधका कारण उत्साहजनक रुपमा काम गर्न नसकेको आङवोले बताए । मंगलबार विराटनगरमा आयोजित अन्तरक्रियामा कानुन, संरचना र कर्मचारी अभावका कारण बजेट कार्यान्वयनमा समस्या आएको आङ्वोको भनाइ छ । बजेट कार्यान्वयनमा अव्यावहारिक सार्वजनिक खरिद ऐन पनि बाधक रहेको आङ्वोले बताए ।