काठमाण्डौं: आइतबार राती बारा र पर्सामा ठुलो धनजनको क्षति हुने गरी आएको हावाहुरीको अध्ययन गर्न ३ दिनपछि आज मौषमविदहरुको टोली त्यसतर्फ जाने भएको छ ।

विनासकारी हावाहुरीको अध्ययन गर्न मौसमविदको टोली बारा र पर्सा जान लागेका हुन् । मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद सहितको टोली त्यसतर्फ जानेछन् । टोलीमा मौसमविदद्वय सुजन सुवेदी र अर्चना श्रेष्ठसँग सहायक मौसमविद गोविन्द झा पनि हुनेछन् । उनीहरुले स्थलगत अवलोकन गरेर प्रतिवेदन तयार गर्नेछन् । त्यसको आधारमा सरकारले थप निर्णय गर्ने बताइएको छ ।

आइतबार राती बारा र पर्साको सिमित क्षेत्रमा मात्र क्षति पुग्ने गरी हावाहुरी आएको थियो । यो घटनाले मौषमविदहरुलाई पनि हैरान पारेको छ । आइतबारको हावाहुरीबाट बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो भने ५ सय बढीको घाइते भएको सरकारी तथ्यांक छ । हावाहुरीले सयौ घर क्षतिग्रस्त भएको छ भने फलफूल र अन्नबालीमा पनि ठुलो क्षति पुगेको छ ।

मौषमविदहरुले तातो हावा माथि जान र चिसो हावा तल जान खोज्दा संघर्ष भएर भुमरी आएको अनुमान गरेका छन् । साथै, त्यस संघर्षमा स्थानीय वायु मिसिदा धेरै क्षति भएको उनीहरुले बताउदै आएका छन् । नेपालमा यसअघि ३० नटभन्दा शक्तिशाली हावाहुरी आएको रेकर्ड थिएन । आइतबारको हावाहुरी ४८ नटको वेगमा आएको मौषमविदहरुको भनाई छ ।