बारा: आइतबार राती हावाहुरीले भएको क्षतिको प्रारम्भिक विवरण तयार पारेर जिल्ला प्रशासन कार्यालय बाराले गृहमन्त्रालयमा बुझाएको छ ।

जिप्रका बाराले तयार गरेको क्षतिको विवतरण अनुसार ९ सय ४० घर पुर्णरुपमा क्षति पुगेको छ भने कुल १ हजार ८ सय ९५ घरमा क्षति पुगेको उल्लेख छ । मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा बुझाइएको प्रारम्भिक क्षति विवरण अनुसार ३ वटा इँटा उद्योग र एक स्वास्थ्य चौकी पनि क्षतिग्रस्त बनेको छ । क्षति भएका मध्ये ९ सय ५५ घरलाई आंशिकरुपमा मात्र क्षति पुगेको विवरणमा उल्लेख छ । विवरण अनुसार हालसम्म २७ जनाको ज्यान गएकोमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिका छन् । मृत्यु भएका मध्ये २३ जना नेपाली र ४ जना भारतीय भएको पनि क्षतिको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सबैभन्दा धेरै क्षति फेटा गाउँपालिकामा

हावाहुरीले सबै भन्दा बढी क्षति फेटा गाउपालिकाको १ भरवलियामा पुगेको छ । प्रारम्भिक विवतरण अनुसार त्यहाँ १३० घर पूर्णरुपमा क्षति भएको छ भने ६० घर आंशिक्षकरुपमा क्षति भएको छ । यस्तै, वडा नं ६ पुरैनियामा ५५ घर पुर्णरुपमा क्षति भएको छ भने २५ घर आंशिकरुपमा क्षति पुगेको छ । फेटाको वडा नं ७ गम्हरियामा ९ घर पूर्णरुपमा क्षति भएको छ भने ६ घरमा आंशिकरुपमा क्षति भएको विवरणमा उल्लेख छ । फेटामा कुल १८ जनाको मृत्यु भएको थियो । जो वडा नं १ का ६ जना र वडा नं ६ का १२ जना थिए । यस्तै, यो गाउँपालिकामा ६० जना घाइते भएको पनि विवतरणमा उल्लेख छ ।

यस्तै, कलैया उपमहानगरपालिकाको वडा नं १२, धर्मनगरमा एउटा घर पुर्णरुपमा क्षति भएको छ भने ९ घरमा आंशिक क्षति पुगेको छ । यो वडामा ४ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन् । यस्तै, वडा नं १८ मनगढवामा २४ घर पुर्णरुपमा क्षति पुगेको छ भने ६ घर आंशिकरुपमा क्षति पुगेको छ । साथै, यो वडामा एक जनाको मृत्यु भएको थियो । यसैगरि, सुवर्ण गाउँपालिका वडा नं १, ४, ५ र ८ मा क्रमशः६२, ९४, ३० र ७५ घर पुर्णरुपमा क्षति पुगेको छ भने १९, ८२, २७ र ४५ घरमा आंशिकरुपमा क्षति पुगेको छ । यो गाउँपालिकाको वडा नं ४ हर्दिया र वडा नं ८ को परशुरामपुरमा एक एक जनाको ज्यान गएको थियो ।

यसैगरि, प्रसौनी गाउँपालिका ४, खुट्वामा ६० घर पुर्णरुपमा र ११५ घर आंशिकरुपमा क्षति पुगेको विवरणमा उल्लेख छ । यहाँ पनि एक जनाको ज्यान गएको थियो । सोही गाउँपालिकाको वडा नं ६ भलुवी चौक उत्तरमा ८ घर पुर्ण र ११ घर आंशिक क्षति पुगेको छ । बाराकै महागढीमाई नगरपालिका ७, तेलगाईमा २९ घर पुर्ण र ५७ घर आंशिकरुपमा क्षति पुगेको गृहमा पठाइएको प्रारम्भिक विवरणमा उल्लेख छ । यसैगरि, देवताल गाउँपालिका ७, रामपुर्वामा ४० घर पुर्ण र ८५ घर आंशिक क्षति पुगेको विवरणमा उल्लेख छ भने पचरौता नगरपालिका ७, वेनौलीमा १६ घर पुर्ण क्षति भएको छ भने १५२ घर आंशिकरुपमा क्षति पुगेको छ ।

सोही गाउँपालिकाको वडा नं २, वैरियामा ३ घर पुर्णरुपमा क्षति र ८ घर आंशिक क्षति भएको विवरणमा जनाइएको छ । यसैगरी, परवानीपुर गाउँपालिका ४ स्थित चैनपुर, शिवपुर, रामटोल र विर्ताटोलमा ३ सय घर पुर्णरुपमा क्षति पुगेको छ भने २ सय ४८ घरमा आंशिक क्षति पुगेको विवरणमा उल्लेख छ ।

file:///C:/Users/dell/Downloads/House%20Destruction%20List_Bara_HM.pdf