धरान: यही चैत २३ गतेदेखी शुरु हुन लागेको दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेलालाई सम्पन्न गर्नको लागि सुनसरीको चतराधाममा १ नम्बर प्रदेश सरकारको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

कुम्भ मेलास्थल तथा प्राचीन हरिद्धारकोरुपमा परिचित चतरास्थित प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको आश्रममा प्रदेश सरकारको सम्पर्क कार्यालय स्थापना गरिएको हो । चैत २३ गतेदेखि २०७६ बैशाख २४ गतेसम्म चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला आयोजना हुदैछ । उक्त मेलालाई सफल बनाउन तथा चुस्त व्यावस्थापनको लागि प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालयको उद्घाटन बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । मेलाको चुस्त व्यावस्थापनको लागि सम्पर्क कार्यालको स्थापना गरिएको मन्त्री कार्कीले बताए । ‘कुम्भ मेला व्यावस्थापन सम्बन्धीको जुनसुकै काम पनि सम्पर्क कार्यालयबाट हुन्छ,’ मन्त्री कार्कीले भने,‘कुम्भ मेला भन्दा बाहिरको काम यहाँबाट हुदैन ।’ सम्पर्क कार्यालय उद्घाटनसँगै कुुम्भ मेलास्थलमा सरसफmाई कार्यक्रम पनि गरिएको थियो ।

kumva-chatara

सम्पर्क कार्यालयमा मेलाको बारेमा समिक्षा, समस्या भए निकारण गर्नेलगायतका सेवा प्रबाह गर्ने प्रदेश १ का प्रमुख सचिव केदार न्यौपानले बताए । ‘यहाँबाट कुम्भमेलाको कार्यक्रमका बारेमा समिक्षा गर्ने, केही समस्या परे निराकरण गर्ने काम हुन्छ । अरु निकायबाट काम कारबाही तलमाथी भए त्यो हल गर्नको लागि समन्वयकारी भुमिका निर्वाह गर्नको लागि सम्पर्क कार्यालय खुलेको हो,’प्रमुख सचिव न्यौपानले भने,‘मेलाको व्यवस्थापन सम्बन्धीका काम मात्र यहाँबाट हुन्छ ।’ बाँकी तीन दिनमा सम्पुर्ण तयारी पुरा गर्ने र त्यसको सबै व्यवस्थापन प्रदेश सरकारले गर्ने पनि उनले बताए ।

मेलाको उद्घाटन चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रथम जगत गुरु वालसन्त महोनशरण देवाचार्य महाराज, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपाल पराजुली, सुनसरी प्रजिअ प्रेमप्रकास उप्रेती, प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजाललगायतको उपस्थिती रहेको थियो । कुम्भ मेला सम्पन्न गर्नलाई प्रदेश सरकारले नै बिशेष महत्व दिएर आयोजनाको जिम्मासमेत लिएको छ । प्रदेश सरकारले सरकारकोतर्फबाट कुम्भ मेलाको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

kumva-mela

चतरामा अर्धकुम्भ मेला शुरु हुनुअघि नै चैत २२ गते धरानको पिण्डेश्वर मन्दिरमा कुम्भ घडाको पुजा र रुद्री पुजा गरेर शुरुवात गर्ने तयारी छ । उक्त दिन पिश्डेश्वर क्याम्पसका प्राध्यापक डा.भरत भट्टराईको नेतृत्वमा पुरोहितहरुले रुद्री तथा कुम्भ घडाको पुजा गर्नेछन् । यहाँ कुम्भ घडाको पुजा गरिसकेपछि घडालाई धरान, इटहरी, विराटनगर, इनरुवा हुदै परिक्रमा गराएर चतरा लगिनेछ । पुजाको तयारी एवं व्यवस्थापनको लागि धरान वडा नं १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्राईको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यसपाली कुम्भ मेलामा आउने तीर्थालु भक्तजनहरुलाई धरानको पिण्डेश्वर मन्दिरमा पुजा नगरी कुम्भ स्नान गरेर मात्र पुर्ण नहुने भनेर जानकारी गराइने आयोजकले जनाएको छ । कुम्भ मेला धरानको पिण्डेश्वर महादेवकै महिमाको कारण शुरु भएको र अमृतको पिण्ड पिण्डेश्वरमा भएकोले यहाँ पुजाअर्चना गर्नैपर्ने भनेर भक्तजनहरुलाई जानकारी गराइने आयोजकको भनाई छ । चतरामा लाग्ने कुम्भ मेला विश्वकै पाँचौ भएको र प्रदेशको धार्मिक पर्यटनमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ । यसअघि २०७० मा आयोजना भएको दोस्रो पिण्डेश्वर पुर्णकुम्भ मेलामा डेढ करोड बढी भक्तजनहरु चतरामा कुम्भ स्नान गर्न आएका थिए । यसपाली पनि त्यो भन्दा बढी संख्यामा भक्तजन एवं धार्मिक पर्यटकहरु देशविदेशबाट चतरा र धरान आउने अपेक्षा गरिएको छ । 

तस्बिर सौजन्य: आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवालय