बराहक्षेत्रः चौथो अन्तरराष्ट्रिय आमन्त्रित भरौल गोल्डकप फुटबल प्रतियोगिता सुनसरीको बराहक्षेत्र ५ कालाबञ्जारमा शुरु भएको छ ।

न्यु स्टार क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले गरेका थिए । बराहक्षेत्र नगरपालिका संयोजक रहेको प्रतियोगिता बराहक्षेत्र नगरभित्रको ठुलो धनराशी भएको प्रतियोगिता हो । ज.डे.ज.खेल मैदानमा बुधबार भएको उद्घाटन खेलमा बराह ट्रेनिङ सेन्टर, बराहक्षेत्रलाई २–० गोलअन्तरले हराउदै मा चर्च ब्वाइज क्लब काठमाण्डौले विजयी शुरुवात गरेको छ ।

जितसँगै चर्च ब्वाइज प्रतियोगिताको सेमीफाइनल पनि प्रवेश गरेको छ । चर्च ब्वाइजलाई निरज बस्नेत र सुमन खडकाले गोल गर्दै जित दिलाएका थिए । खेलमा पहिलो हाफको २९ औं मिनेटमा निरजको फ्रि किक सिधै गोलमा परिमाण भएको थियो । दोस्रो गोल भने सुमनले दोस्रो हाफको ३८ औ मिनेटमा गरेका थिए । प्रतिस्पर्धात्मक खेल भएपनि बराहले भने गोल फर्काउन सकेन । बराहका साजन राईको प्रहार पोलमा ठोकिएर फर्किनु दुर्भाग्य बनेको थियो । खेलको म्यान अफ दि म्याच बराहका रविन राई घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी हात पारे ।

church-boys

चैत २७ गतेसम्म आयोजना हुने प्रतियोगितामा कुल ८ वटा टिमले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए । प्रतियोगितामा चर्च ब्वाइज, बराह ट्रेनिङ सेन्टर, फ्रेण्ड्स क्लब काठमाण्डौ, दाफिन्स फुटबल क्लब क्यामरुन, कञ्चनजंघा फुटबल क्लब दार्जिलिङ, रेड हर्ष क्लब इलाम, आयोजक न्यु स्टार र काठमाण्डौंको सरस्वती क्लबले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेताले उपाधि ट्रफीसँगै नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार हात पार्नेछ ।

तस्बिर: प्रदीप चौधरी