धरान : धरानका जनप्रतिनिधिहरुले वडाको विकास गर्नको लागि पर्याप्त बजेट नभएको बताएका छन् । वडाबासीको धेरै माग सडक तथा ड्रेन निर्माण एवं विस्तारमा हुने गरेको भन्दै उनीहरुले जनअपेक्षा पुरा गर्न बजेट अभाव भएको गुनासो गरे ।

धरानबाट प्रशारण हुने विजयपुर एफएमले बुधबार आयोजना गरेको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा धरानका जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये १० वटा वडाका वडाध्यक्ष र सदस्यहरु सहभागी थिए । जनप्रतिनिधिहरुले आफ्नो वडामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, महिला बालबालिकाको क्षेत्रमा काम गर्न बजेटको अभाव भएको बताए । वडाबासीले सबैभन्दा बढी सडक विस्तार गर्न माग गर्ने गरेको र वडाको अधिकांस बजेट पनि त्यसैमा खर्च हुँदा अन्य क्षेत्रमा काम गर्न कठिनाइ भएको बताए । बजेट अभावले वडाको विकास गर्न नसकिएको पनि उनीहरुको भनाई थियो ।

जनप्रतिनिधिहरुले धरानमा धार्मिक र प्राकृतिक रमणीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सकिनेदेखि व्यस्त बजारमा आकाशे पुलको आवश्यकता भइसकेको विषयमा पनि धारणा राखे । साथै, उनीहरुले जनसहभागिताको भरमा धेरै कामहरु भएको पनि बताए । वडा नं ३ अध्यक्ष आशाकुमार श्रेष्ठले निम्न वर्गका समुदायकालागि आयमुलक कार्यक्रममा जोड दिएको बताए । यसैगरी ३ नं. वडाकै वडासदस्य उषा सुब्बाले समाजमा पुरुषमाथि पनि दिनदिनै हिंसा बढेकाले अधिकार दुरुपयोग गर्नबाट बच्न पनि महिलाहरुलाई सचेतना कार्यक्रमहरु संचालन गरेको र सामाजिक सुरक्षा भत्ता कार्यक्रममा वडाका घरघरमा फोन गरेर जानकारी दिने गरेको सुनाइन् । यस्तै वडा ४ का अध्यक्ष मानवहादुर राईले आफ्नो वडा धरानको कर्णाली भएपनि पर्यटकीय गन्तव्य बनाएर स्थानीय समुदायको आय आर्जनतर्फ जोडदिएको बताए । पर्यटकीय स्थल भेडेटारको केही भाग र शिवजट्टा जस्ता पर्यटकीय स्थल भएपनि पहाडै पहाड भएकाले भौतिक पुर्वाधार विस्तार गर्न बजेटले नपुगेको उनको भनाई थियो । वडा नं ९ का अध्यक्ष रत्न कट्वालले शहरीक्षेत्र भएकाले फोहोर व्यबस्थापन गर्न पहल भइरहेको बताए । उनले बजेट अभावले सार्वजकिन शौचालय र भानुचोक नजिकैको पुतलीलाइनमा आकाशे पुल निर्माण गर्न नसकिएको बताए ।

56157346_2272820446324739_5987167621596839936_n

वडा १० का अध्यक्ष श्रीसुव्वाले वडामा फोहोर व्यबस्थापन मुख्य समस्या रहेको बताए । उनले जनसहभागिताको भरमा धेरै काम भएको उल्लेख गर्दै एकल महिलाको आर्थिक उपाजर्नकालागि अचार बनाउनले तालिम, सिलाइ कटाई र कम्प्यूटर तालिम देखि युवायुवतीकालागि ड्राइभिङ तालिम संचालनमा जोड दिएको बताए । यसैगरी वडा ११ का अध्यक्ष बाबुलाल लामाले मंगलबारे बजारलाई थप व्यबस्थित बनाउने प्रयास भइरहेको बताए । उनले पनि बजेट अभाव भएकाले धेरै काम गर्न नसकिएको बताए ।

यसैगरी वडा १२ का अध्यक्ष टंकवहादुर राईले बजेट अभावकावीच खहरे खोला नियन्त्रण गर्न प्रयास भइरहेको बताए । वडालाई बालमैत्री बनाउने तयारी भइरहेको पनि खुलाए । शहरीक्षेत्रमा पर्ने भएकाले आय आर्जनकालागि जमिन अभाव भएका समुदायलाई कौशी खेतीमा जोड दिएको उनले बताए । लागुपदार्थ नियन्त्रण गर्न वडाले जनचेतना मुलक कार्यक्रम संचालन गरिरहेको बताए । यसैगरी, वडा १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेले लक्षित वर्गकालागि वडाले काम गरिरहेको तर बजेट अभावले सोचेजति काम गर्न नसकेको बताए । यसैगरी वडा १९ का वडाध्यक्ष पुणवहादुर लिम्बुले आफ्नो वडालाई पुर्ण खोप भएको, बालश्रममुक्त बनाएपनि भौतिक विकास निर्माणमा बजेट अभावले खहरे खोला नियन्त्रण गर्न बांकी नै रहेको बताए ।

यसैगरी वडा २० का वडाध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रवक्ता मणिराम राईले कृषि, नगदेबाली उत्पादन हुने विष्णुपादुका धार्मिक पर्यटीय स्थल भएको बताए । तर, आफ्नो वडामा एक इन्च पनि पिच नभएको उनको भनाई थियो ।