धरान: चैत्र २३ गतेदेखि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वारमा लाग्ने दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेलाको तयारी युद्धस्तरमा भइरहेको छ ।

नेपालको प्रथम जगत गुरु वालसन्त मोहनशरण देवाचार्यको अगुवाई लाग्ने मेलाको संयोजनकारी भुमिका प्रदेश १ सरकारले गरिरहेको छ । एक महिनासम्म सञ्चालन हुने महाकुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको बुधबार वालसन्तको आश्रम परिसरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । प्रदेश सरकारले मेलाको संयोजनकारी भुमिकाको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई जिम्मेवारी दिएको छ । ६ वर्षको अन्तरालमा लगाउन लागिएको पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र बाँकी तयारीको काम यूद्धस्तरमा भइरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । ‘मेलाको तयारी अन्तिम चरणमा पुगेको छ, तयारी तिब्र रुपमा भइरहेको छ,’मन्त्री कार्कीले भने,‘सडक, खानेपानी, विजुली बत्ति, आवास सुविधा, शौचालय, सुरक्षा व्यावस्था सबै तयार गदैछौं ।’

मेलामा धेरैको सहभागिता हुने हुँदा त्यसको चुस्त व्यावस्थापनको लागि सरकारको सबै अंगहरु परिचालन भएको मन्त्री कार्कीले बताए । ‘मेलामा १० औं लाख मानिसहरु आउने हामीले आकलन गरेका छौं,’उनले भने,‘मेला सभ्य र भब्यरुपमा सम्पन्न गर्न, चुस्त व्यावस्थापन बनाउन सरकारका सबै अंगहरु परिचाल गरेका छौ ।’ मेलास्थल आउने जाने सडक मर्मत गर्नको लागि स्थानीय तहलाई निर्देशन दिइएको छ । त्यति मात्र हैन, मेलामा हुनसक्ने आवश्यक जोखिम न्यूनिकरण र प्राकृतिक विपद्बाट हुने घटनाहरुको सर्तकताको लागि आवश्यक तयारी समेत भइरहेको मन्त्री कार्कीको भनाई थियो ।

chatara-kumva

मेला स्थलमा निशुल्क स्वास्थ्य हेल्प डेक्सको स्थापना गर्ने र प्राथमिक उपचारले सम्भव नभए थप उपचारको लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विरानगरको नोबेल हस्पीटललगायतका अस्पतालमाहरुमा पठाउनको लागि आवश्यक व्यावस्थापन गर्न निर्देशन दिइएको छ । यस भन्दा अघि प्रधानमन्त्री कार्यालयको सचिबको नेतृत्वमा यसको संयोजनकारी भुमिका निर्वाह गरेको स्मरण गराउदै मन्त्री कार्कीले यस पटक प्रदेश सरकार नौलो भएपनि सफल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए । मेलामा लाग्ने सम्पूर्ण व्यावस्थापनको जिम्मा प्रदेश सरकारल लिएको उनले बताए ।

मेलामा शान्ति सुरक्षा तथा विपद् जोखिम न्यूनिकरणको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत सुरक्षा व्यावस्था मिलाई प्रहरी नायक उपरीक्षकको नेतृत्वमा मेला अवधिभर सुरक्षा टोली खटाउने प्रदेश १ का मुख्यसचिब केदार न्यौपानले बताए । महाकुम्भ स्नान स्थल व्यावस्थापन र विपद् जोखिम न्यूनिकरण गर्न तथा सुरक्षा व्यावस्थाका लागि नेपाली सेनाको टोली समेत खटिएका छन् । यसैगरी, प्रचार अभियानलाई तीब्र पारिएको छ । ‘प्रदेश १ का सबै स्थानीय तहका सञ्चाल माध्यमबाट प्रचार अभियान चलाइएको छ’ मुख्यसचिब न्यौपानले भने ‘विभिन्न जिल्लाका मुख्य नाका, शहरहरु र राजमार्गहरुमा स्वागत गेट तयार गदैछौं ।’ स्थानीय तह, निजी क्षेत्र, सामाजिक तथा धार्मिक संघसंस्थाहरुले प्रचारमा जुटिरहेको उनको भनाई थियो ।

kumva

धर्मले समाजलाई जोड्ने हुनाले यसले समग्र देशबासीलाई एकताको सुत्रमा बाध्ने वालसन्तले बताए । देशको अर्थतन्त्रको विकास हुनुका साथै देशलाई अन्तरराष्ट्रिय स्तरसम्म चिनाउने भन्दै उनले सबैलाई सहभागी हुन आग्रह गरे । ‘धर्मले राष्ट्रलाई जोड्छ, नेपालको मौलिक संस्कृति जाग्छ यसैले यो महत्वपूर्ण काम हो,’उनले भने,‘यसले हिन्दुधर्मलाई मात्र नभएर समग्र देशमा नै एकता स्थापना गर्छ ।’ मेलामा देशभरका सबै तीर्थालु भक्तजनहरु आउने र छिमेकी देशहरुबाट आउने बताए । यसैगरी, अमेरिका, यूरोपबाट पनि आउने जानकारी पाएको बताए । मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । मेलाको उद्घाटनको पूर्वसन्ध्यामा चैत्र २२ गते धरानको पिण्डेश्वर मन्दिरमा बिशेष पुजा गरी कलश यात्राको प्रारम्भ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको छ । मेला क्षेत्रमा ५० वटा सिसि टिभी जोडिने छ ।

भारतको पनि कार्ड चल्ने मोवाइल एटिएम राखिने

धार्मिक पर्यटक र तिर्थालुहरुको सहजताको लागि हेल्पडेक्स राखिने छ । मेला स्थलमा भारत तथा नेपालका डेविट तथा क्रेडिट कार्ड चल्ने मोवाइल एटिम राख्ने तयारी भइरहेको मुख्यसचिब न्यौपानले बताए ।