बराहक्षेत्र:सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित कालाबञ्जारमा जारी चौथो अन्र्तराष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता रेड हर्ष क्लब इलाम विजयी भएको छ ।

ज.डे.ज. खेल मैदानमा बिहिबार सम्पन्न खेलमा भारतको दार्जिलिङस्थित कञ्चनजंघा फुटबल क्लबलाई पराजित गर्दै रेड हर्ष सेमीफाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा रेड हर्षले पाहुना टोली कञ्चनजंघालाई २–१ गोलअन्तरले पराजित गर्यो ।
रेड हर्षको लागि पहिलो हाफको ४ मिनेटमै मनिष थापाले गोल गरे । डि बक्स नजिकबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

IMG_20190404_174932

कञ्चनजंघाले खेलको ३० औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाएको थियो । कञ्चनजंघाका रिवास रानाले गोल गरेका थिए । पहिलो हाफको खेल एक एक गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४० औं मिनेटमा रेड हर्षका खेलाडी प्याट्रिकले विजयी गोल गरेका थिए ।

रेड हर्षका प्याट्रिक खेलको म्यान अफ दि म्याच पनि घोषित भए । उनलाई बराहक्षेत्रका वडा नं ५ का वडाअध्यक्ष राजु अधिकारीले पुरस्कार नगद ५ हजार प्रदान गरेका थिए । प्रतियोगितामा शुक्रबार फ्रेण्ड्स क्लब काठमाण्डौ र दाफिन्स क्लब क्यामरुन बीच खेल हुने आयोजकले जनाएको छ ।

तस्बिर सौजन्य: प्रदिप चौधरी