धरान(डेस्क): शंकास्पदरुपमा दिल्ली हिडेका तीन महिलालाई बिहिबार भारतीय सिमा सुरक्षा वलले पक्राउ गरेर नेपालका सुरक्षा अधिकारीहरुको जिम्मा लगाएका छन् ।

एसएसबीले बिहिबार राती करिब १० बजे नेपालको सशस्त्र प्रहरी वल, भण्टाबारी र अधिकारकर्मीको जिम्मा लगाइदिएका थिए । सशस्त्र र अधिकारकर्मीले पनि तिनै जना महिलालाई राती नै सिमा प्रहरी चौकी भण्टाबारीलाई करिब ११ बजे जिम्मा लगाएको थियो । भण्टाबारी चौकीले पनि मध्यराती नै तीनै जना महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइदिएको चौकीका इञ्चार्ज एवं सई अवधलाल साह सोनारले जानकारी दिए । ‘राती ११ बजेतिर चौकीमा ल्याएका थिए, राती नै जिल्लामा पठाइदिएको छुँ,’सई साहले भने ।

बिहिबार भारतको विहार राज्यको सुपौल जिल्लास्थित भिमनगरबाट एसएसबीले मोरङको कानेपोखरीकी २४ बर्षीय राधिका मगर, मोरङकै सुन्दरहरैचाकी २३ बर्षीय रेखाकुमारी खवास र मोरङको केरौनकी ३३ बर्षीय घनिन्द्र कुमारी मगरलाई पक्राउ गरेको थियो । उनीहरु दिल्ली जाने बसमा चढिसकेका थिए । नेपालको सशस्त्र प्रहरी र अधिकारकर्मीको आग्रहमा उनीहरुलाई एसएसबीले समातेको थियो । एसएसबीले आवश्यक प्रक्रिया तथा मेडिकल जाँच गरेर राती करिब १० बजेतिर मात्र ती महिलाहरुलाई नेपाली सुरक्षा अधिकारी(सशस्त्र) र अधिकारकर्मी सिवेन्द्र कर्णकये जिम्मा लगाएको थियो ।

दिदी बहिनी मिलेर छिमेकीलाई लगेको आशंका

ssb

पक्राउ परेका मध्ये घनिन्द्र र राधिका दिदी बहिनी हुन् । रेखाकुमारी घनिन्द्रको छिमकी हुन् । राधिका भारतीयसँग तेस्रो विवाह गरेर भारततिरै बस्ने गरेका छन् । शुरुमा राधिकाले नै आफ्नी दिदी घनिन्द्र र रेखाकुमारीलाई काम लगाइदिने प्रलोभनमा दिल्ली लैजादै गरेको आशंका अधिकारकर्मी र सशस्त्र प्रहरीको थियो । शुरुमा दिदीको श्रीमानलाई पनि थाह नदिई बहिनीले दिल्ली लैजादै गरेको खुलेको थियो । तर, सीमा सुरक्षा चौकी भण्टाबारीले राती थप सोधपुछ र वयान लिने क्रममा दिदी बहिनी मिलेर रेखाकुमारी खवासलाई दिल्ली लैजान लागेको खुल्यो ।

चौकीका इञ्चार्ज एवं साई साहका अनुसार भण्टाबारी नाका हुदै भारत पुग्नुअघि उनीहरु एक रात झुम्कामा बसेको खुलेको छ । त्यहाँ पनि मगर दिदी बहिनी एउटा कोठामा र खवासलाई छुट्टै अर्को कोठामा राखेका थिए । रेखाकुमारी(खवास)को घरमा अभिभावकहरु कसैलाई पनि दिल्ली जादै गरेकोबारेमा जानकारी थिएन । साथै, घरमा पनि कसैलाई नभन्नु भन्दै मगर दिदीबहिनीले रेखाकुमारीलाई भनेको पनि प्रारभिक वयानबाट खुलेको छ ।

यस्तै, राधिकासँग निरन्तर एक व्यक्तिको सम्पर्क भएको तर उनी को हुन् भन्ने खुल्न नसकेको सई यादवले बताए । ‘एक जना पुरुषसँग निरन्तर फोन सम्पर्कमा छन्, तर को हो भन्ने थाह छैन, उनीहरुले भेटेका पनि छैनन्,’साई साहले भने,‘बसमा ३ जनाको टिकट काटिदिने पनि तिनै व्यक्ति हो । प्रारम्भिकरुपमा हेर्दा पेशेवर दलाल हो कि भन्ने देखिन्छ । नेटवर्क छ ।’ रेखाकुमारी खवासले उजुरी दिएमा दिदी बहिनीलाई मानव बेचबिखनको मुद्दा चल्ने सई यादवले बताए ।