धरान(डेस्क): प्रदेश नं १ प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बारा र पर्सामा हावाहुरीले भएको क्षति एवं विपद व्यवस्थापन गर्न एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

बिहिबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले चैत्र १७ गते प्रदेश २ का दुई जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एक करोड सहयोग गर्ने निर्णय गरेको हो । यस्तै, सोही बैठकले दोश्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलालाई ५० लाख रुपैया सहयोग गर्ने पनि निर्णय गरेको छ । अर्धमहाकुम्भलाई सम्पन्न गर्न प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा ब्यवस्थापन मुल सहयोग समिति गठन भएको छ । मन्त्रीपरिषद बैठकले गाउँ तथा नगर सभाका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले जानकारी दिएका छन् । 

यस्तै, जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धि ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै, प्रदेश शासकीय सुधार एवं सुदृढीकरण सहयोग परियोजना सम्बन्धमा, सार्वजनिक निजि साझेदारी तथा लगानी प्राधिकरण विधेयक,२०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले बृहत्तर बिराट बिकास क्षेत्र सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक,२०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, प्रदेश प्रहरीको गठन, सेवा शर्त र सन्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक,२०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ । यसैगरि, संघ सम्स्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि,२०७५ स्वीकृति प्रदान गरेको छ भने  चैते धान विशेष सहयोग कार्यक्रम कार्यविधी,२०७५ लाई पनि स्वीकृति प्रदान गरेको छ ।