भरतपुर: चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थितमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

शहरी क्लिनिक टोलका एकै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेको अनुमान गरिएको छ । घरभित्र एकै ठाउँमा तीन सलको पाशोमा उनीहरु झुण्डिएको अवस्थामा भेटिएका थिए । करिब ३२ वर्षीया आमा माया आलेमगर, करिब १३ वर्षीया छोरी विनिता मगर र करिब १२ वर्षीय छोरा विवेक मगर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तीन जनाले आत्महत्या गरेको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मी जानकारी दिए । मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली सेनामा कार्यरत रहेका छन् । घटना रहस्यमय बनेको छ । छोराछोरीलाई झुण्ड्याएर आमा आफै पनि आत्महत्या गरेको हुनसक्ने आशंका छ ।