विराटनगर:मोरङ बेलबारीकी २८ बर्षीय रमिला राईको हत्या अभियोगमा पक्राउ परेका साविक एमाले नगर अध्यक्ष योगेन्द्र गुरुङलाई कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाको इजलाशले गुरुङलाई तत्कालको लागि कारागार पठाउने आदेश दिएको हो । बहस जारी नै भएपनि गुरुङलाई कारागार पठाउने आदेश भएको मोरङ जिल्लाका एसपी मनोजकुमार केसीले जानकारी दिए । उनले भने,'पुर्पक्षको लागि जेल चलान भएको चै होइन, बहस जारी नै हुदा हुदै पनि कारागार पठाइएको हो । पुर्पक्षमा चै केही दिनपछि जान्छ ।' न्यायाधीशको अनुपस्थीतिमा श्रेस्तेदारले थुनछेकको आदेश दिइएको हो । न्ययाधीश आएपछि आदालतको नियमावली अनुसार गुरुङलाई पुनर्विचारको लागि इजालसमा पेश गरिने बताइएको छ ।

ramila

गुरुङले गत फागुन १७ गते गते आफ्नी प्रेमिका राईको हत्या गरेर शव कोशी नदीमा लगेर फालेका थिए । तर, उनी आफैले प्रहरीमा प्रेमिका हराएको रिपोर्ट गरेका थिए । अनुसन्धान हुदै गर्दा राई वेपत्ता हुनुमा गुरुङको हात रहेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले हत्या गरेर शव कोशीमा फालेको वयान दिएपछि २६ दिनपछि मात्र बोराभित्र हालेर फालेको अवस्थामा रमिलाको शव भेटिएको थियो ।

प्रहरीले अनुसन्धान पुरा गरेर सरकारी वकिललाई मिसिल बुझाएपछि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । गुरुङले फागुन १७ गते राती मदिराको नशामा रहेकी रमिलाको मुख थुनेर आफ्नै घरमा हत्या गरेको वयान दिएका छन् । घरमा पुगेपछि रमिलाले विवाह गर्नुपर्छ भन्दै कराउन थालेकोले हल्ला हुन नदिन मुख थुन्दा ज्यान गएको बताएका छन् । रमिला र योगेन्द्रबीच विगत ६ बर्षदेखि प्रेम सम्बन्ध थियो ।