धरान:सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ का ज्याबुल मन्सुरी कतारबाट २० दिन अघिमात्र छुटीमा घर आएका थिए । घर फिरेपछि परिवार र साथीभाईसँग उनको समय बितिरहेको थियो ।

भोक्राहामा फुटबल खेल चलिरहेको थियो । शुक्रबार साथीहरुसँग ज्याबुल पनि त्यतै जादै थिए । चोकमा २ जना व्यक्तिले मोटरसाइकल र साइकललाई रोक्यो । झोलामा के छ भन्दै प्रहरीले जस्तरी जाँच गर्न खोज्यो । ती दुई व्यक्ति प्रहरी नै थिए । तर, उनीहरु प्रहरीको पोशाकमा थिएनन्, सिभिलमा थिए । दुई मध्ये एक सई चन्द्रकुमार शाक्य थिए । उनीहरु सिभिलमा भएकोले प्रहरी हौं भन्दा पनि स्थानीय युवाहरुले पत्याएनन् । युवाहरुले उल्टै किन सोधेको ? को हो ? भन्दै विवाद गर्न थाले ।

नजिकै फुटबल खेल पनि चलिरहेकोले भीड जम्मा हुन थालिहाल्यो । परिस्थिति असहज बन्दै गएपछि सईले पेस्तोल निकालेर देखाउदै आफु साँच्चैको प्रहरी हुँ भने । तर, विवाद झनै चर्कियो । दुई प्रहरी र युवाहरुबीच ठेलामठेल भयो । स्थिति तनावपुर्ण बन्यो । त्यसैक्रममा एक्कासी गोली चल्यो । बीस दिन कतारबाट घर आएका ज्याबुलको दाहिने हातको नाडीमा गोली लाग्यो । सई शाक्यको पनि दाहिने हातको चोर औलामा गोलीले घाउ बनाइदियो ।

गोली चलेपछि घटनास्थलमा झनै तनाव बढ्यो । महिलासहित स्थानीयबासीले प्रहरीलाई घेरा हालेर राखे । गोली चलेको खबर पुगेलगत्तै जिल्ला प्रहरी कार्यालय इनरुवाबाट डिएसपी ज्ञानेन्द्र फुँयाल घटनास्थलमा पुगे । भिड ठुलो थियो । उनले घाइतेहरुलाई अस्पताल पठाएर स्थानीयलाई सम्झाउन लागे । स्थिति सहज बनाउन उनलाई निक्कै गाह्रो थियो । गल्ती भए प्रहरीलाई पनि कारबाही गर्ने आश्वासन पनि दिएर अवस्था सामान्य बनाउन सफल भए ।

फुटबल हेर्न जादैथिए, गोली लाग्यो: घाइते

vokraha

बीस दिनअघि मात्र छुट्टीमा घर आएका ज्याबुल अन्सारी शुक्रबार दिउँसो करिब ३ बजेतिर फुटबल हेर्न साथीहरुसँग जादै गरेको बताए । त्यसबेला प्रहरीले रोकेर आफुहरुको पनि झोला चेक गरेको र विवाद भएका उनले बताए । ‘हामी त फुटबल हेर्न जादै थियौ, रोकेर झोला चेक गर्यो,’उनले भने,‘प्रहरी हो भन्ने पनि लागेन । झगडा हुदै थियो, एक्कासी गोली चलायो ।’

उनले प्रहरीले नै गोली चलाएको दाबी गरे । ‘मलाई गोली लाग्यो, अरु त कस्ले चलायो होला ?’उनले भने,‘२० दिन मात्र भयो कतारबाट आएको । छुट्टी सकिन लाग्यो, के गर्ने गर्ने भयो ।’ ज्याबुलको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । दाहिने हातको नाडीमा गोलीले छेडे पनि हड्डी र मुल नशामा नभेटेकोले उनी खतरामुक्त भएको चिकित्सकले बताएको छ ।

गोली कस्ले चलायो भनेर अनुसन्धान हुदैछ: डिएसपी

शुक्रबार भोक्राहा नरसिंहमा गोली लागेर प्रहरीका सई चन्द्रकुमार शाक्य सामान्य घाइते भए भने स्थानीय युवा ज्याबुल अन्सारीको दाहिने हातको नाडी गोलीले छेड्यो । उक्त गोली सई शाक्यले बोकेको पेस्तलबाटै चलेको पुष्टि भइसकेको छ । तर, गोली कस्ले र कुन परिस्थितिमा चलायो भन्ने प्र्रष्ट भएको छैन ।

स्थानीयले गोली प्रहरीले नै चलाएको दाबी गरिरहेको छ । तर, पेस्ताल बोकेका सई शाक्य आफै घाइते छन् । उनको दाहिने हातको चोर औलामा नै गोलीले चोट बनाएको छ । त्यसैले उनले पेस्तोल चलाए भन्ने अवस्था छैन । अर्का, घाइते ज्याबुलले पनि गोली नचलाएको प्रष्ट भइसकेको छ । ‘सई सापकै पेस्तोलबाट एक राउण्ड गोली चलेको छ, तर कस्ले कुन परिस्थितिमा गोली चलायो भन्ने प्रष्ट भएको छैन,’जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डिएसपी फुँयालले भने,‘तस्करीको सामान धेरै आउने गरेपनि २ जना प्रहरी निगरानी गर्न गएका थिए । त्यसैबेला साइकल र मोटरसाइकल रोकेर सोधपुछ गर्दा विवाद भएर ठेलमठेल भयो । सईको पेस्तोल भुईमा खसेपछि कसैले टिपेर गोली चलाएको हुनसक्छ ।’

डिएसपी फुँयालले घाइते ज्याबुलले गोली नचलाएको प्रष्ट भइसकेको बताए । यस्तै, सई शाक्यको पनि दाहिने औलाको चोर औलामा गोलीले चोट लागेकोले उनले पनि पेस्तोल नचलाएको डिएसपी फुँयालको भनाई छ । ‘बास्तविकता के हो भनेर अझै बुझ्दै नै छौ,’उनले भने ।