धरान: आजदेखि शुरु हुने दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

सुनसरीको चतराधाममा एक महिनासम्म लाग्ने कुम्भ मेलाको उद्घाटन गर्न प्रधानमन्त्री ओली चतरा आउने कार्यक्रम तय भएको थियो । तर, आज बिहानैदेखि मौषम खराबी भएपछि प्रधानमन्त्री ओली चतरा नआउने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले कपुरीन्यूजसँगको टेलिफोन सम्पर्कमा भने, आज मौषम खराब भयो, त्यसैले प्रधानमन्त्री ज्यू कुम्भको उद्घाटन समारोहमा आउने कार्यक्रम रोकिएको छ । प्रधानमन्त्री नआउने भएपछि कुम्भको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईबाट हुने बताइएको छ । कुम्भ मेलालाई मौषमले साथ दिएको छैन । अहिले बर्षा भइरहेको छ । बर्षाको कारण आजदेखि शुरु हुने भनिएको कुम्भको उद्घाटन समारोह नै प्रभावित हुन पुगेको छ ।

आज उद्घाटन हुने कुम्भ एक महिनासम्म आयोजना हुनेछ । चतराधाममा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको पहलमा २०५९ देखि लाग्न शुरु भएको हो । हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ बर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ । देवताहरुले अमृत पिएर बचेको तर एवं छोक्रालाई पिण्डको आकारमा महादेव(शिवलिंग) स्थापना गरिएको ठाउँ धरानको पिण्डेश्वर भएको विश्वास गरिन्छ । त्यसैले भारतको ४ ठाउँको कुम्भ भन्दा यहाँ लाग्ने पिण्डेश्वर महाकुम्भको महत्व बढी भएको मानिन्छ । कुम्भको बेला कोशीमा स्नान गरेर बराह र पिण्डेश्वरको दर्शन गरे पुण्य प्राप्ती हुने विश्वास छ ।