कोरिया : दक्षिण कोरियामा ठूलो डढेलो फैलिएपछि राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको छ।

बिहीवार सुरु भएको डढेलोमा परेर कम्तीमा एक व्यक्तिको ज्यान गएको छ भने प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ। उत्तर कोरियाको सीमा नजिकै रहेको पूर्वोत्तर पहाडी भेगमा फैलिएको आगो निभाउन कर्मचारीहरूसँगै हजारौँ सैनिक परिचालित भएका छन्। मुख्य आगो नियन्त्रणमा आइसकेको भए पनि अरू स्थानमा डढेलो बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

बिहीवार राति सोलबाट पूर्वोत्तर खाङ्वान प्रान्तमा बिजुलीको ट्रान्स्फर्मरबाट निस्किएको झिल्कोबाट डढेलो सुरु भएको बताइन्छ। तीव्र गतिमा चलेको हावाका कारण आगो छिट्टै पहाडी भेग र नजिकै रहेका केही सहरमा फैलिएको अधिकारीहरू बताउँछन्। दक्षिण कोरियाका विभिन्न स्थानबाट आठ सयवटाभन्दा बढी दमकल डढेलो नियन्त्रणमा खटेका छन्।

सो प्रान्तमा सयौँ भवनहरू जलेर नष्ट भएका छन्। आपत्कालीन बैठक बोलाएर दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले अधिकारीहरूलाई उपलब्ध स्रोत र साधन प्रयोग गरी आगो नियन्त्रण गर्न निर्देशन दिएका थिए। झन्डै १६ हजार पाँच सय सैनिक, ३२ वटा सैन्य हेलिकप्टर, २६ वटा सैन्य दमकल परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ। सक्चो क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा आएको सरकारले बताएको छ। क्याङ्नङमा भने आधा आगो बाँकी रहेको बताइन्छ । दक्षिण कोरियामा सन् २००७ मा पनि ठूलो आगो फैलिएको थियो। त्यति बेला एउटा पानीजहाजबाट हजारौँ लिटर कच्चा तेल पश्चिमी तटनजिकै समुद्रमा चुहिँदा आगो फैलिएको थियो।