काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरै ठाउँमा अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

आज बिहानैदेखि राजधानीसहित देशका पुर्व,पश्चिम सबैतिरका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ । मौषम प्रतिकुल बनेपछि महाशाखाले शनिबार विशेष बुलेटिन सार्वजनिक गरेको छ । महाशाखाका अनुसार पूर्वी नेपाल र मध्य क्षेत्रका अधिकांश स्थानमा सामान्यदेखि पूर्णबदली हुनेछ भने पश्चिम नेपालका स्थानहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेकोले सबैलाई सचेत पनि गराएको छ ।

महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा मध्य तथा पश्चिमको केही भूभागमा विकसित मौसमी प्रणालीका कारण उपत्यकालगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयाङसहित वर्षाले निरन्तरता पाउने देखिएको उल्लेख छ । केही दिनयता प्रि मनसुन(मनसुन सुरु हुनुअघिको वर्षा) सक्रिय भएको मौषमविदहरुले जनाएका छन् । चैतदेखि जेठसम्मको वर्षालाई प्रि मनसुन भनिन्छ। यसअवधिमा मेघ गर्जनसहित हावाहुरी, बतास, चट्याङसहितको वर्षा हुन्छ । केही दिनअघि प्रदेश नं २ को बारा र पर्सामा आएको हावाहुरीले ठुलो जनधनको क्षति पुगेको थियो । त्यसैले प्रिमनसुनको बेला सचेत हुन पनि मौषमविद्हरुले सबैमा आग्रह गरेको छ ।