इटहरी : शनिबार बिहान १० बजे अरु बेलाको जस्तो समय थिएन । हुरी बतास, चट्याङ र पानी गर्जिरहेको थियो । केहीछिनमै कवि साहित्यकारहरु एक दुई गर्दै धरान १० स्थित किरात राई यायोक्खाको यलम्बर स्मृति संग्रहालय भवनमा भेला भए । कारण थियो भर्खरै प्रकाशित भएको अनुहारको भीड कविता संग्रहका कविहरुको कविता सुन्ने र बिमर्श गर्ने ।

मसँग पनि छन् आँसु–संवेदननहरु
मसँग पनि छन् मुस्कान–खुसीहरु
मलाई मेरै हालतमा छोडिदिनू
तर अह, नछोइदिनू मलाई...
म बिलाईजान सक्छु तिम्रा हातहरुमा
नहल्लाउनु मलाई–
म खसिजान सक्छु यी पातहरुबाट ...

20190406_124458-(1)

इटहरी, तरहराका कवि विनय सरगमले एक थोपा पानी शीर्षकको कविता वाचन गर्न सुरु गर्दा हललमा परर्र ताली बज्यो । हल बाहिर पनि उस्तै गरि पानी परिरहेको थियो । हलमा उनले एक थोपा पानी शीर्षकको कविता वाचन गर्नु संयोग नै भयो । कविताको वासनामा रमाईरहेका आमन्त्रित अतिथिहरुलाई उनले यी हातबाट सबैसबै खसिजानेछन् र ढुंगाहरु शीर्षकको कविता श्रवण गराए ।

७० को दशकदेशि कवितामा कलम चलाउन थालेका कवि सरगमले २०७२ आश्विन २९ गते तरहरामा क्यानभास साहित्य समाजको स्थापना गरी थुप्रै साहित्य अभियान समेत चलाए । उनले भने,‘हामीले ६० दशकको उत्तरार्ध र ७० को दशकदेखि लेख्न सुरु गरेका १७ जना कविहरुको १०२ वटा कविता समाबेश रहेको छ अनुहारको भीड पुस्तकमा ।’
त्यस्तै, झापाकी अर्की कवि सम्पदा रिजालले पनि कविता श्रवण गराउँदा हल एकाग्र भयो ।

तिम्रो गर्भाययको ओछ्यान
त्यसैदिन बिझाएको हो
जतिबेला
बाबु
घरि तिम्रो पेट हेर्दै
घरि दिदीको अनुहार हेर्दै
तिम्रो अनुहारमा
ह्वालह्वाल्ती पुरुषत्वको अहम् छादेर
तिरस्कारको वार्निङ बेल बजाईरहन्थे

20190406_124855

कवि रिजालले भ्रुणको आत्मकथा शीर्षकको कविता वाचन गर्दा हलका मानिसहरु एकआपसमा कानेखुशी गरिरहेका थिए । उनले लगातार भोकको चिट्टी र प्रेमको लय शीर्षकको कविता वाचन गरिन् । त्यस्तै मोरङका कवि मनोज मुश्किलको कविताले पनि राम्रै ताली पायो ।

गुलेलीबाट भर्खरै उम्किएको ढुंगाको मुटुलाई पुग्नु छैन
चराको छातीसम्म
हातबाट भर्खरै लडिगएको मनलाई पुग्नु छैन
परदेशको माटोसम्म

पुग्नु छैन कतै जूनकीरीहरुको देश उज्यालोको
यात्रालाई ....

इच्छा शीर्षकको प्रेम कविता वाचन गर्दा उनले हलमा भएका मानिसहरुबाट ताली पाए । त्यो सँगै प्रसंशा पनि । उनले इच्छा, परिचय र पर्खिनु्पर्छ शीर्षकको कविता सुनाए । ७० को दशक यताबाट कविता लेख्न सुरु गरेका कवि मुश्किल बिराटनगरमा बसेर निरन्तर साहित्य लेखनमा क्रियाशिल छन् ।

20190406_125403

अन्तरािष्ट्रय हरियाली मञ्च सांस्कृतिक समूह सुनसरीको आयोजनामा अनुहारका भीड भित्रका केही अनुहारहरुका कविता वाचन कार्यक्रम राखिएको हो । पुस्तकबारे बोल्दै कवि मनु मञ्जिलले नेपालमा यस किसिमका पुस्तकहरु पहिल्यै प्रकाशन हुनुपर्ने बताए । उनले भने, ‘कविताको बिषयबस्तु चयन गर्नु एकदमै शक्तिशाली कुरा हो, कवितामा बिचार र कला दुबै आएको छ, यो राम्रो कुरा हो ।’ उनले आफू युद्ध गर्न पनि नजान्ने र सिकाउन पनि नछाड्ने कुरालाई ब्यङ्ग्य गर्दै कविहरु आफ्नो उचाईमा नपुग्दै लड्ने अवस्था सृजना भईरहेको स्मरण गराए ।

‘तपाईँ के भन्दैहुनुहुन्छ त्यो महत्वपूर्ण कुरा हैन, तर तपाई कसरी भन्दैहुनुहुन्छ त्यो महत्वपूर्ण कुरा हो,’ उनले भने,‘हामीले लेखेका हरेक वाक्यलाई हृदयको पाटो हुँदै पुस्तकमा छाप्नुपर्छ, हरेक शब्द चयन गर्दा गम्भीर ध्यान दिनु आवश्यक छ ।’ उनले कविता रचना गर्दा आफ्नै भाषा, शैली, अस्तित्व र उचाई निर्माण गर्नुपर्ने र अरुको शैली चोर्न नहुने तर्क गरे । उनले कवितालाई कमजोर रुपले नलिन समेत सुझाए । अर्का वक्ता कवि सन्तोष थेवेले कविता एउटा दुईटा लेखेर नहुने र यसलाई कलात्मक र शील्पलाई गहन तरिकाले प्रस्तूत गर्नुपर्ने बताए । उनले भने,‘कविले हरेक कवितामा नयाँपन र सरलपन दिनु आवश्यक छ, कविले यात्रालाई निरन्तरा दिए सफल हुने मेरो विश्वास छ ।’

20190406_130205

कार्यक्रम संयोजक मिलन बिग्रोल चाम्लिङले एउटा नयाँ कार्यक्रमको सुरुवात गरेको बताए । उनले भने,'हामीले एउटा नयाँ कार्यक्रमको सुरुवात गर्न खोजेका हौँ, आगामी यात्रामा यहाँहरुको साथले मात्र हामी पूर्ण हुनेछौँ ।' संस्थाकी सचिव गोमा कुलुङको सञ्चालन, अध्यक्ष कुमारी नाङछिरीङको सभाध्यक्ष तथा कवि प्रदीप योङहाङको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।