धरान:सुनसरीको बराहक्षेत्र नगरपालिका ५, कालाबञ्जारमा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण भरौल गोल्डकपमा फुटबल प्रतियोगितामा आयोजक न्यू स्टार क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

ज.डे.ज.खेल मैदानमा शनिबार भएको खेलमा काठमाण्डौंको सरस्वती फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा २–२ गोल भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको हो । टाइब्रेकरमा सरस्वती क्लब आयोजकसँग ३–१ गोलअन्तरले पराजित भयो ।निर्धारित समयको खेलमा तीन मिनेटमा नै निशान लिम्बूको फ्रि किक प्रहारमा प्रवेश दनुवारले गोल गर्दै आयोजकले अग्रता लिएको थियो । पहिलो हाफको १० मिनेटमा भुवन बस्नेतले हेडमार्फत गोल गर्दै आयोजकलाई २ गोलको अग्रता दिलाए । दोस्रो हाफमा लयमा फर्कदै सरस्वती क्लबले २ गोल फर्कायो ।

20190406_170129

दोस्रो हाफको ४० औं मिनेटमा दिनेश राईले गोल गरे भने इञ्जुरी समयमा बराबरी गोल गर्दै सुदेश जबेगुले सरस्वतीको आशा जिवित राखे । समय अभावले सिधै टाइब्रेकर भएको थियो । टाइब्रेकरमा न्यु स्टारका निशान लिम्बु, अनिल धामी, सुरज बिकले गोल गरे भने रोशन भुजेलको प्रहार सरस्वतीका गोलकिपरले रोके । टाइब्रेकर सरस्वती क्लबका दिनेश राईमात्र गोल गर्न सफल भए । खेलको म्यान अफ दि म्याच घोषित हुदै न्यू स्टारका गोलकिपर पारस खतिवडाले नगद ५ हजार र ट्रफी हात पारे । उनलाई वडा नं ३ का वडाध्यक्ष रुद्र दाहालले पुरस्कार प्रदान गरेका थिए ।

शनिबारको खेलको नतिजासँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ । आयोजक न्यू स्टार र रेड हर्षबीच सोमबार दोस्रो सेमीफाइनल खेल हुनेछ भने आइतबार पहिलो सेमीफाइनल खेल चर्च ब्वाइज काठमाण्डौ र दाउफिन्स क्लब क्यामरुनबीच हुनेछ ।